नेपाल पक्षद्वारा समानान्तर रुपमा कमिटी गठन, चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले समानान्तर रुपमा पार्टी कमिटी गठन गरेका छन्।

नेकपा एमालेले पार्टी कमिटीमा पदाधिकारी हेरफेर गरेकोमा शनिबार नेपाल पक्षले आफ्नातर्फबाट कमिटी पदाधिकारीको नाम सार्वजनिक गरेको छ।

जस अन्तर्गत प्रदेश १ को संयोजकमा भीम आचार्य, प्रदेशको संयोजकमा घनश्याम भूषाल, बागमती संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीको संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी भीम रावललाई  दिइएको छ।

यस्तै युवा कमिटी संयोजकमा रघुजी पन्त, विद्यार्थी कमिटीमा गोकर्ण विष्ट, प्रचार विभागमा योगेश भट्टाराई, महिला विभागमा अष्टलक्ष्मी शाक्य र वुद्धिजिवी कमिटीमा प्रमेश हमाललाई संयोजक तोकिएको छ।

यस्तै एमाले स्थायी कमिटीका बहुमत सदस्यहरुले संयुक्त वक्तव्यसमेत निकाल्दै छन्। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ ।

बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता भीम रावलले बताए ।