महिलाप्रति निकृष्ट अभिब्यक्ति दिने रघु पन्तबिरुद्ध कानूनी उपचार खोज्ने कोमल वलीको घोषणा

चर्चित गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले नेकपा प्रचण्ड–माधव समुहका नेता रघुजी पन्तबाट आफ्नो चरित्रहत्या गर्ने भएको भन्दै न्यायका लागि अदालत जाने बताउनु भएको छ ।

आफ्नो गृहजिल्ला दाङमा रहनुभएकी नेतृ वलीले पन्तको अभिब्यक्तिले सवै महिलामाथि आक्षेप लगाउने र चरित्रहत्याको प्रयास भएको भन्दै काठमाडौं फर्कनासाथ प्रहरी र अदालतको ढोका ढक्ढकाउने बताउनु भयो । ‘अहिले यो विषयमा सवैसँग सरसल्लाह गरिरहेकी छु, सबैले कानूनी प्रक्रियामा जान सुझाव दिनुभएको छ, काठमाडौं फर्केर यस बिषयमा आवश्यक निर्णय लिन्छु,’ राष्ट्रियसभा सदस्यसमेत रहनुभएकी नेतृ वलीले जनताटाइम्ससँग भन्नुभयो ।

नेकपा प्रचण्ड–माधव समुहका स्थायी कमिटी सदस्य पन्तले ओलीमाथि ‘साडी माथि उठाएर पिडुला देखाएर सांसद पद लिएको भन्ने आपत्तिजनक आक्षेप लगाउनु भएको थियो । पन्तको सो अभिव्यक्ति आफ्नो लागि मात्र नभएर सबै नेपाली महिलाहरुका लागि अपमानजनक रहेको नेतृ वलीले बताउनु भयो । पन्तको अभिब्यक्तिले राजनीतिमा लागेका महिलालाई हेर्ने दृष्टिकोण यसबाट प्रतिबिम्बित भएको उहाँको भनाई छ ।

‘उहाँबाट मैले यस्तो निकृष्ट सोचको कल्पना नै गरेको थिइनँ, यसमा म चुप लागेर बसेँ भने भोली अरु महिलाले पनि यसैगरी आरोपित बन्नुपर्नेछ, अपमानित हुनुपर्नेछ, चरित्रहत्याको सिकार हुनुपर्नेछ, त्यसैले म चुप लाग्दिन,’ वलीले भन्नुभयो ।