गृहजिल्लाबाट प्रधानमन्त्रीले भने : ‘अविश्वास प्रस्तावबाट हटाएर देखाउनुस्, तीन करोड नेपालीबाट दुई तिहाइ लिएर आइन्छ ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।

झापामा आइतबार आयोजित कार्यक्रममा बोलेका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गरेका छन्।

‘केपी ओलीलाई हटाएर देखाउनुस् न,’ उनले भने, ‘अविश्वास प्रस्ताव राख्नुस्। पास गर्नुस्। पहिले पनि अविश्वास प्रस्ताव राखेर हटाएको हो, म जनताबाट फर्केर आएको हो। अहिले पनि हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाइ लिएर आइन्छ।’ उनले लोकतन्त्रलाई तलमाथि हुन नदिने दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीले मिष्टर हेल्लो र मिष्टर कम्फर्टेबलले मुलुकलाई बर्बाद पार्न चाहेको बताउनु भयो । तर, कसैलाई पनि चिन्ता नगर्न आग्रह गर्दै हामीहरु पनि यही देशमा रहेको स्मरण गराउनु भयो । ‘मिष्टर एल्लो र मिष्टर कम्फर्टेबलले मुलुकलाई बर्बाद पार्न चाहे, तर तपाईलाई भन्छु, हामी छौं यो देशमा । मलाई पहिलो पटक प्रधानमन्त्रीबाट हटाउँदा मैले भनेको थिए, यस प्रक्रियामा हामी पनि यही छौं, हामी यही छौं भन्ने कुरा नबिर्स । अहिले पनि म लड्डु खानेहरुलाई भन्न चाहान्छु । हामी यही छौं भन्ने कुरा नबिर्स ।’