अदालतले दिएको समय सीमाभित्रै संसद अधिवेशन आह्वान हुन्छ: प्रदीप ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको स्थायी कमिटी बैठकले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वय गर्ने निर्णय गरेको छ।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

अदालतको आदेश बमोजिम निर्धारित समयमै संसद बैठक आह्वान हुने उनले बताए।

बैठकको निर्णय सुनाउँदै ज्ञवालीले उनले भने, ‘अदालतको फैसलालाई कार्यान्वयन गर्ने, त्यसलाई सम्मान गर्ने हिसाबले हामी अगाडि बढ्छौँ। संसदको अधिवेशन निर्धारित समयमै आह्वान हुन्छ। अदालतले दिएको समयसीमा भित्र।’

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने नेकपाले जनाएको छ । बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिनेक्रममा परराष्ट्र मन्त्रीसमेत रहेका प्रवक्ता प्रदीप ज्ञवालीले राजीनामाको विषयमा छलफल नभएको बताए।