म्यानमारमा सेनाको कू विरुद्ध प्रदर्शन चर्किँदै

म्यानमारमा सेनाको कू विरुद्ध आम नागरिकहरु सडक प्रदर्शनमा उत्रन थालेका छन्। यसरी भइरहेका प्रदर्शनमा अब शिक्षक र विद्यार्थी पनि सहभागी हुन थालेका छन्।

म्यानमारको ठूलो शहर यांगूनको एक विश्वविद्यालयमा प्रदर्शनकारीहरुले जेलमा थुनिएका आङ साङ सूकीसहितका नेताको रिहाईको माग गरेका छन् ।

प्रदर्शनमा उत्रेकाहरुले आफ्नो कपडामा रातो रिवन लगाएका थिए जो सूकीको पार्टीको रंग हो। शुक्रबार दिउँसो सयौँ विद्यार्थी तथा शिक्षकहरु यांगूनको विश्वविद्यालय बाहिर जम्मा भएर विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले सूकीको समर्थनमा नाराबाजी गरेका थिए । उनीहरुले हातमा रातो झण्डा देखिन्थ्यो। सैन्य कू पछि नेतृ सूकीसहित अन्य नेताहरु हिरासतमा छन्।

सूकी सोमबारको घटनापछि सार्वजनिक भएकी छैनन्। गएको सोमबार बिहान सेनाले निर्वाचित नेतृ आङ साङ सूकीसहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ ।

विश्व समुदायले म्यानमारमा भएको सैन्य कू को विरोध गरेको छ । म्यानमार भित्रै पनि नागरिक तथा पेशाकर्मीहरुले विरोध गरिरहेका छन् । सर्वसाधारणले भाँडा बजाएर विरोध गरेका छन् भने स्वास्थ्यकर्मीले काम बन्द गरेर विरोध गरिरहेका छन् ।

म्यानमारको सेनाले स्थानीय समय अनुसार सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सत्ता नियन्त्रणमा लिएको हो ।

गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टी अत्याधिक बहुमत ल्याएर विजयी भएको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिनको सबेरै सत्ता हत्याएको हो ।