नेत्रविक्रम चन्द (विप्लव) समूहका पाँचजना कार्यकर्ता रुकुमपश्चिमबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२, बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी–९, प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाइली छन् ।
जिल्लाको मुसिकोट नगरपालिका–१, रावलबाडामा संगठन विस्तार गरिरहेको विशेष सूचनाका आधारमा आइतबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।