नेपालमा सुरु भयो कोभिड–१९ विरुद्धको खोप अभियान

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबारदेखि ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन्। यस्तै डा. अनुप बास्तोला, रेडियोलोजिस्ट कन्सल्टेन्ट ८० वर्षका नेत्र बहादुर अमात्य, रुना झा लगायतले खोप लगाएका हुन् ।

योसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिन सुरु भएको छ। ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने छ ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदैछन् ।

नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो ।

काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।

May be an image of child
भक्तपुर अस्पतालमा कोरोना विरुद्धको खोप लगाउँदै डा. सुमित्रा गौतम । फोटोः प्रदेशखबर

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा‍. झलक शर्मा गौतमले आज ०.५ मिलीलिटर मात्रा खोप प्रदान गरिने जानकारी दिए। पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ ।

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने उनले बताए।

खोप ज्वरो आएको वा कोभिड–१९ को लक्षण भएका वा अन्य सक्रिय सङ्क्रमण भएका अवस्थामा र गर्भवती वा सुत्केरी पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस भएका दोस्रो मात्र नदिने गर्नुपर्दछ ।