सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटी सचिव आनन्द पोखरेलले विश्वलाई चकित बनाउनेगरी भएको दुई कम्युनिष्ट पार्टी बीच कहिल्यै नफुट्ने प्रतिवद्धतागरी भएको एकता पुःन बिभाजनमा पुग्दा आफुलाई दुखित तुल्याएको बताएकाछन् । नेकपा जिल्ला संगठन समिति सिन्धुलीद्धारा आयोजित विस्तारित बैठकलाई प्रमुख अतिथीका रुपमा सम्वोधनगर्दे नेता पोखरेलले सो कुरा बताएका हुन् । उनले सिन्धुलीमा दुई पार्टी एकता घोषणा कार्यक्रममा मैंले कहिल्यै बिभाजन नहुनेगरी हामीले पार्टी एकता गरेको र सारा विश्वलाई चकित बनाउँदै अगाडि बढेको विश्वास दिलाएको थिएँ, तर भने अनुसारको काम हुन सकेन, त्यसका निम्ती म सिन्धुलीका पार्टी नेता, कार्यकर्ताहरुमाझ माफी माग्न चाहान्छु, उनले भने । जनआन्दोलन र जनयुद्धका लिगेसी भएका बहुमत साथीहरु यही हलमा देखेको छु, त्यसले तपाईहरु पार्टी विभाजन भयो भनेर चिन्तित हुनुपर्दैन, केही मार्चण्डहरु मात्रै पार्टीबाट चोइटिएर गएका छन्, पार्टी विभाजन भएको छैन, उनले अगाडि भने ।
सहयोद्धा निरु दर्लामीको कुरा सुन्दा लाग्यो, उहाँले कम्युनिष्ट आन्दोलन, जनयुद्ध, सत्य, न्याय, अग्रगमन र राष्ट्रिय स्वाभिमानको पक्षमा संघर्ष गर्नुभयो, हतियार उठाउनु भयो, जीवन संगी, र छोरीलाई गुमाउनु भयो, तर पनि उहाँमा राष्ट्रियता, जनतन्त्र, जनजिविका र कम्युनिष्ट पार्टी प्रतिको आस्था र बिचार अझ बलियो भएको छ, म उहाँको आस्था र विश्वासलाई स्यालुट गर्छु, नेता पोखरेलले भावुकहुँदै भने ।
जतिबेला सिन्धुलीमा पार्टी एकता समारोहमा सपथग्रहण गर्दैथियौं, त्यस बेला पनि यहाँ अन्तरविरोध थियो । विघी र पद्धतिलाई कुल्चँदै एकल ढंगल एकता प्रक्रिया समापन गरिएको भन्दै साथीहरुले असहमति प्रकट गर्दा आफैंलाई पिडाबोध भएको भएको थियो । त्यसै बेला सिन्धुलीका साथीहरुले नेतृत्व अहंकारी छ, नेतृत्व सहिष्णु छैन, नेता कार्यकर्ताको कुरा सुन्दैन, भनेर आपत्ती जनाउँदै गर्दा अध्यक्षले बैठक सकियो भनेर घोषणा गरेका थिए । त्यो सबै मेरै आँखा अगाडि भएका थिए र यो नेतृत्वले सिन्धुली जिल्लामा कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न सक्तैन भन्ने कुरा मलाई त्यस बेलै लागेको थियो । त्यस्ता गतिवधीले त्यसबेलै नेकपामा विभाजनको रेखा कोरिइसकेको थियो, नेता पोखरेलले सम्वोधनका क्रममा भने ।
हिजो म आफैं उपस्थित भएको कार्यक्रममा उहाँलाई अध्यक्ष तोकिएको थियो, आज फेरी पनि म आफैं उपस्थित बैठकले उहाँलाई अध्यक्ष पदबाट हटाउनु पर्दा दुःख लागेको छ पोखरेलले दुखेसो पोखे ।
संसद विघटन अग्रमगन र प्रतिगमन बीचको टकराब भएको बताउँदै पूर्व मन्त्री पोखरेलले अन्तत जीत अग्रमगन पक्षधरकै हुने उल्लेख गरे । पार्टीको मुल धार केपी ओलीले नेतृत्व गरिरहेको र आधिकारिकता र निर्वाचन चिन्हका विषयमा शंका नगरी अगाडि बढ्न उपस्थित नेता कार्यकर्ताहरुलाई अपीलसमेत गरे ।
कार्यक्रमलाई सम्वोधनगर्दै नेकपाको केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला सह इन्चार्ज उमा कोइरालाले केपी ओली नेतृत्वको नेकपामा नेता कार्यकर्ताहरु रहेकाले विभाजनको कुनै पनि असर नपरेको बताइन् । उनले केही स्वार्थी तत्वहरु पार्टीबाट बाहिर गएर अराजक गतिविधी गरिरहेको बताउँदै विधी र पद्धतिभन्दा बाहिर जाने अध्यक्षलाई कारबाही गरिने घोषणा गरिन् ।

अर्की केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य निरु दर्लामीले नेकपाका अध्यक्ष प्रचण्डले कम्युनिष्ट आचरण, व्यवहार र सिद्धान्त छोडेर भारतीय बिस्तारवाद सामु लम्पसार परेकाले आफुले उनलाई साथ नदिएको खुलासा गरिन् । पार्टीलाई एकता प्रक्रियाको मर्म र भावना अनुसार सञ्चालन नगर्ने र पदका लागि मरिमेट्ने अध्यक्ष प्रचण्डको कार्यशैलीकैं कारण जनयुद्धका सहयात्रीहरु मोहन बैद्य, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्दहरु पार्टी बाहिर रहेको र उहाँका हरेक कामहरु आत्मकेन्द्रीत भएको बताइन् । जनयुद्धको लिगेसी बोकेका साथीहरुलाई हामी माओवादीहरु एकै ठाउँमा बस्नुपर्छ भन्दै आएपनि जनयुद्धको नेतृत्व गरेका अध्यक्ष प्रचण्डले जनयुद्धका सबै आधारस्तम्भहरु ध्वस्त पारिसकेको र उहाँमा कम्युनिष्ट आचरण र व्यवहार नभएकोले एक ढिक्का भएको कम्युनिष्ट पार्टीलाई देशी विदेशी शक्तिको इशारामा विभाजन गराउने कार्यलाई साथ नदिएको प्रष्ट पारेकी थिइन् ।
अर्का केन्द्रीय सदस्य केशव देवकोटाले पार्टी भित्र देखिएको अराजकता अब अन्त्य भएको बताउँदै विधी र पद्धति अनुसार जिल्ला पार्टी कमिटी अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए ।
नेकपाका अर्का केन्द्रीय सदस्य शान्तिमान कार्कीले सत्य र न्यायका पक्षमा उभिएका सिन्धुलीका नेकपा नेता कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापनगर्दै एक ढिक्का भएर पार्टीका काम कारबाहीहरु अगाडि बढाउन आग्रह गरेका थिए ।

त्यसैगरी केन्द्रीय सदस्य शंकरनाथ शर्मा, कौशल कोइरालालगायतले सम्वोधनगर्दै निर्वाचनको तयारीमा जुट्न सबैलाई अपील गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य, डम्वर कार्की, बुद्धिलाल माझी, सुवास देवकोटा, फिक्कल गाउँपालिकाका अध्यक्ष धनवहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवार, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, वडाध्यक्षहरु,तीनपाटनकी उपाध्यक्ष एवम् वडाध्यक्षहरु, स्थानीय पार्टी कमिटीका अध्यक्ष, सचिवलगायत जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
जिल्ला सचिव प्रदीप कटुवालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला कार्यालय सदस्य एवम् कमलामाई नगरकमिटी इन्चार्ज महेन्द्रदेव श्रेष्ठले गरेका थिए । बैठकले ५ सय ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको घोषणा गरिएको थियो ।