नेपाल भारत सीमा क्षेत्र सिल गर्न थप ८ हजार ३ सय ८३ सशस्त्र प्रहरी खटियो

कोरोना भाइरसको फैलावट रोक्नका लागि बन्द गरिएको नेपाल भारत सीमानाका सिल गर्न आजबाट सातै प्रदेशमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

समाचार स्रोतका अनुसार नेपाल भारत सीमानाका सिल गर्नका लागि ७ वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा त्यसमातहतका गण, गुल्म तथा तालिम केन्द्रबाट थप ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

नाका बन्द भएपनि लुकीछिपि नेपाल छिर्ने क्रम नरोकिएपछि गृहमन्त्रालयले सीमानाका सिल गर्नका लागि थप सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो ।

अहिले प्रत्येक एक किलोमिटरमा शसस्त्र प्रहरीको टोली खटिएको छ । लकडाउनअघि यो दूरी १० किलोमिटरसम्म थियो ।