नेकपा एक खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारका मामिललामा आगामी दिनमा निर्वाचन आयोग र सर्वोच्च अदालले गर्ने निर्णय आफ्नै पक्षमा हुने दाबी गरेका छन्।
उनले नेपालको अदालत ‘चार्ली च्याप्लिन’को खेल जस्तो नभएको भन्दै को असली हो भन्ने अदालतले चिन्न सक्ने दाबी गरेका छन्।
प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्धारा शनिबार आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले भने, ‘अदालतले जुँगा हेरेर, जेल लगाएको कपाल हेरेर, कुम हल्लाएकैबाट को असली भन्ने चिन्छ ? अदालत चार्ली च्याप्लिनजस्तो नचिन्ने होइन । ’
यस्तै उनले आफू आधिकारिक भएको दाबी गर्दै उनले सूर्य चिह्न आफूहरुसँग भएको दाबी गरे।
उनले भने, ‘उहाँहरुले बहुमत छ भन्दै हुनुहुन्छ। गफै त हो सम्धी ! कुन महाधिवेशनले भन्यो ? उहाँहरुसँग बहुमत छ भनेर । कुनै एउटा जिल्ला र निर्वाचन क्षेत्रमा बहुमत ल्याएर देखाउनुहोस् त ! दाबी पनि कस्तो ?’ यस्तै उनले थपे,‘ रेस्लिङ खेलमा पहिले पनि देखिन्छ । खेल्न कहिले हो कहिले लगाउने कुरा पहिले नै खोजेर लगाउँछन्। रिङमा पुगेर मुक्का खाएपछि थाहा पाउँछ । हाम्रा कमरेडहरुले पनि पहिले नै माला लगाउन खोज्ने ? कुन कार्यकर्ताले दियो बहुमत ? तपाईंहरुले भोट हाल्नुहुन्छ ? तपाईहरुले गल्ती गरेर उनीहरुलाई भोट हाल्नुहुन्छ। बहुमत घरमा भन्या हो?’
उनले प्रचण्ड नेपाललाई ढाडेको संज्ञासमेत दिन भ्याएका छन्। उनले भने,‘ एउटा चोर घरभित्र पसेछ। अध्याँरामा भाँडो ट्याङ्ङ ठोक्किएछ। भाँडा ठोक्किएपछि घरवालाले चोर आयो कि क्या हो भनेछ? चोरले म्याउँ गरेछ। ए, बिरालो पो रहेछ भनेछ घरवाला चुप लागेछन्। तर त्यसपछि अध्याँरोमा चोरले थुप्रै भाँडाहरु एकै पटक ढालेछ। घरवालाले लाइट बालेर हेर्दा बिरालो नभएर ढाडे अर्थात चोर देखिएछ। त्यसको गति के भयो होला त्यो तपाईँ बिचार गर्नुहोस्।’
उनले एकछिन अध्याँरोमा झुक्काउन खोज्ने, एकछिन म्याउँ भनेर उम्किन खोज्नेहरुलाई उम्किन नदिने र उनीहरुलाई ठेगान लगाउने अडान लिए। र, परिवार, पद र पैसाका लागि मरिमेट्नेहरुलाई ठेगान लगाउने एक मात्र विकल्प चुनाव भएको बताए। उनले प्रश्न गरे, ‘पद चाहियो भन्ने अनि चुनावमा जुन पदमा हार्यो, त्यही लिन खोज्ने?
उनले थप भने,‘ मैले दुई वटा बच्चा देखेको थिएँ। एउटा बच्चाले एउटा राम्रो गुडिया बोकेर आयो। अर्को बच्चाले गुडिया एक छिन मलाई खेलाउन देऊ भने। अर्कोले एकछिन आफ्नो हातमा भएको गुडिया अर्को बच्चालाई दिए। एकछिन दुवै जना मिलेर गुडिया खेलाए पनि तर एकपछि अर्को बच्चाको गुडिया मेरो हो भन्न थाले एक बच्चाले। कस्तो प्रचण्डको डुब्लिकेट! एकता के गरिएको थियो, एकैछिन कार्यकारी अध्यक्ष के दिइएको थियो, पार्टी मेरै हो भन्न थाले!’