आइतवार जिल्लास्तरीय भेला कार्यक्रम राखेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधवसमूहले पार्टी कार्यालयमा राखेको कार्यक्रम अन्यत्र सारेको छ । सत्तारुढ केपी ओलीपक्षीय नेकपाको नगरकमिटीले विहान १० बजे र प्रचण्ड पक्षले ११ बजे एकै स्थानमा (पार्टी कार्यालय) मा कार्यक्रम राख्दै सामाजिक सञ्जाल मार्फत आमन्त्रण गरेपछि कार्यक्रम स्थल हिंसात्मक हुने भयले स्थानीय वासिन्दा त्रसित बनेका थिए ।
तर प्रचण्ड-माधव पक्षधर नेकपाले सोही विषयलाई ध्यानदिंदै जिल्ला स्तरीय कार्यक्रम सिताराम पार्टी प्यालेसमा गर्ने निर्णय गरेको छ । तर र्यालीको शुभारंभ भने पार्टी कार्यालयबाटै गरिने प्रचण्ड-माधवपक्षीय नेताहरुले बताएका छन् । समाचार स्रोतका अनुसार ओली निकट नेकपा सिन्धुलीका सचिव प्रदीप कटुवाल र प्रचण्ड निकट जिल्ला अध्ययक्ष राजन दाहाल बीचको टेलिफोन सम्वादपछि कार्यक्रम अन्यत्र सारिएको हो । सम्वादपछि दुबै पक्षले पार्टी कार्यालयमा कार्यक्रम नगर्ने भनिएको छ ।










