मेक्सिकोमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु

ल्याटिन अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ। मेक्सिको कोरोना भाइरसविरुद्धको खोप लगाउनु सुरु गर्ने पहिलो ल्याटिन अमेरिकी देश बनेको छ। मेक्सिकोमा अग्रपंक्तिमा रहेर संक्रमितको सेवामा खटिएकी नर्सलाई खोप लगाएर बिहीबारदेखि बृहत खोप अभियान सुरु भएको हो ।

बुधबार फाइजर–बायोएनटेकको खोप मेक्सिको पुगेको थियो । खोपको पहिलो खेप आएसँगै बिहीबारदेखि त्या खोप अभियान सुरु भएको हो ।

मेक्सिकोपछि चिलेमा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ । कोस्टारिकामा पनि खोप अभियान थालिन हुन लागेको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा धेरै मानिसको ज्यान ज्याने देशको सूचिमा मेक्सिको चौथो स्थानमा छ । अमेरिका, ब्राजिल र भारतपछि धेरै ज्यान मेक्सिकोमा गएको छ ।

यसैबिच अर्जेन्टिनाले गएको बुधबार रुसी खोप स्पुट्निक भी लाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो । सो खोपको तीन लाख डोजको पहिलो खेप स्थानीय समय अनुसार बिहीबार बिहान ब्युनेस आयर्स पुगेको जनाइएको छ ।

मेक्सिकोमा राजधानी मेक्सिको सिटी स्थित रुबेन लेनेरो अस्पतालको सघन उपचार कक्षमा कार्यरत ५९ वर्षीया नर्स मारिया इरेने रामिरेजलाई खोप लगाएर खोप अभियान थालनी भएको हो ।

मेक्सिकोले किनेको तीन करोड ४० लाख डोज मध्ये बुधबार उत्पादन भएको बेल्जियमबाट पहिलो तीन हजार डोज पुगेको हो ।

चिलेका राष्ट्रपति सेबास्टियन पिनेरा खोपको वितरण अभियानको अवलोकन गर्दै ।

प्रत्यक्ष प्रसारण गरेर खोप अभियानको सुरुवात गरिएको हो । सन् २०२१ को पहिलो त्रैमासिकमा सबै स्वास्थ्यकर्मीलाई खोप लगाउने योजना रहेको मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले बताएका छन् ।

मेक्सिकोमा अहिलेसम्म कोभिड–१९ बाट एक लाख २० हजार भन्दा धेरैको ज्यान गएको छ।