नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल पक्षले एकै दिन दुईतिर केन्द्रीय समिति बैठक बोलाएका छन् । अध्यक्ष ओलीले भोली बिहान ९ बजे बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएको हो भने प्रचण्ड पक्षले दिउँसो १ बजे बैठक बोलाएका हुन् ।
ओली समूहले बैठक बोलाएर कार्यकारी अध्यक्ष प्रचण्डलाई पार्टी हित बिपरित गतिविधी गरेको आरोप लगाउँदै कारवाही गर्ने योजनाअनुसार बैठक बोलाएको बुझिएको छ । राष्ट्रका नाममा सम्बोधन गरेका ओलीले संसद विघटनको औचित्य पुष्टि गर्ने प्रयत्न गरेका थिए ।

ओलीको संसद विघटन र निर्वाचन गराउने घोषणालाई कार्यान्वयन तहमा लैजानका लागि सबै सरकारी संयन्त्रले काम थालेपछि कार्यकारी अध्यक्ष प्रचण्डले निर्वाचन आयोगमा सोमबारनैं अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई पार्टीले कारबाही गरेको लिखित जानकारी पत्र बुझाएपछि नेकपा औपचारिक रुपमा विघटन भएको देखिएको छ । एकातिर सचिवालय बैठक बसेर ओलीलाई कारबाहीका लागि शिफारिश गर्ने र अर्कातिर कारबाही हुनुपुर्वनैं कारबाही गरिएको पत्र निर्वाचन आयोगमा बुझाएपछि मंगलबारबाट एक अर्कालाई कारबाहीको श्रृंखला सुरु हुने छ ।
आजका लागि तोकिएको प्रचण्ड नेपाल पक्षको स्थायी समिति बैठक पनि भोलि मंगलबारनैं बस्ने भएको छ ।

नेकपा केन्द्रीय कार्यालयका दुई कार्यालय सचिवले फरकफरक बैठकका लागि एसएमएस पठाउँदै जानकारी गराएका छन् ।
प्रचण्ड–नेपाल समूहले आइतबार नै स्थायी कमिटीको बैठकबाट निर्णय गराएर ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव ल्याउने बताएको थियो । प्रचण्ड पक्षको यस्तो तयारी थाहा पाएपछि सोमबार बानेश्वरमा बसेको प्रचण्ड पक्षको भेलाले असंवैधानिक काम गर्ने प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई कारवाही गर्ने तयारी भएको वरिष्ठ नेता झलनाथ खनालले बताए ।
उता, ओलीले आफूलाई घेराबन्दीमा पारेर काम गर्न नदिएकाले संविधान अनुसार नै संसद भंग गरेको दावी गरेका छन् भने प्रचण्ड पक्षले संसद भंग गर्ने कुनै आधार नभएकाले संसद भंग नभएको दावीगर्दै आएको छ ।











