प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न गएपछि दुई नेताका बीचमा देखिएको अन्तरविरोध मत्थर हुने दिशातर्फ उन्मुख हुने अनुमान गरिएको छ ।
प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएका छन् । तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान ओलीले लिएका छन् । यद्यपि पार्टीभित्र अल्पमतमा परेका उनीमाथि प्रचण्ड–नेपाल पक्षको दबाब तीव्र छ ।
ओली र उनीसँग असन्तुष्ट प्रचण्डसँग शनिबार सघन र्वार्ता हुने खासगरी ओली पक्षका नेताहरुले बताएका छन्। तर प्रचण्डपक्ष भने त्यसमा त्यति आसावादी छैन। पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् रुष्ट भएको छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएको भोलिपल्टै ओली उनलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ ।











