‘समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीकै काँधमा’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताएका छन्।

नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौसर शाहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाई शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन।

अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टी भित्र चल्ने बहस र छलफलहरु त्यही समाजवाद तिरको यात्राका लागि हुन् । समाजवाद तिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्दति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन् ।”

अध्यक्षले संघीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणालीमार्फत देशमा आर्थिक विकासको नयाँ यात्रा तिर आफूहरु अगाडि बढेको बताए। उनले अगाडि भने, ‘यो बेला पक्कै पनि चुनौतिहरु आउँछन् । ती समस्या र चुनौतिको पनि सामना गर्न सक्ने तागत कम्युनिष्ट पार्टी भित्रै छ । कम्युनिष्ट पार्टीले आफैं भित्रबाट त्यो तागत पैदा गरेर हामीले समाजवाद तिर लाग्नेछौं ।”

उनले नवआगन्तुकलाई स्वागत गर्दै पार्टीमा योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने र एक भएर उक्त जिम्मेवारी पुरा गर्ने विश्वास दिलाए।

कार्यक्रममा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभा सदस्य रही सकेकी शाहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताए । उनले भनिन्, ‘मन मिल्नेहरु एउटै ठाउँमा आउँदा रहेछन्। मानिसहरुको बानी व्यहोरा र चिन्तन प्रणालीले एक ठाउँमा ल्याउने सहेछ।’

पार्टीमा प्रवेश गर्दै नेतृ शाहले नेपाली काँग्रेसमा गुण्डा पाराले पार्टी भित्र हैकम चलाएकाले आफूले सो पार्टी परित्याग गरेको बताइन्। उनले देशमा आएको जाति, लिंग र समुदायहरुमा आएको परिवर्तन कम्युनिष्ट पार्टीले नै ल्याएको दाबी गरिन्।

काठमाडौं महानगरपालिकाको नेपाली काँग्रेसको नगर सदस्य रहेकी उनी विगतमा नेपाल विद्यार्थी सङ्घ पद्यकन्या क्याम्पसमा नेविसङ्घमा आवद्ध थिए।

२०६२/०६३ सालको आन्दोलनमा चार पटक हिरासत बसेका थिए। दोस्रो संविधानसभाको निर्वाचनबाट नेपाली काँग्रेसको तर्फबाट उनी संविधानसभा सदस्य भएका थिए।