नेकपा सचिवालय बैठकः दुबै अध्यक्ष आ आफ्नै अडानमा

नेकपाको सचिवालय बैठक, वालुवाटार, फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको आफूविरुद्धको प्रस्ताव फिर्ता गरेर माफी माग्नुपर्ने अडान दोहोर्‍याएका छन्।

स्रोतका अनुसार बिहीबार बालुवाटारमा आयोजित नेकपाको सचिवालय बैठकमा ओलीले बैठक सुरुमै प्रचण्डतिर इंगित गर्दै एजेण्डा के हो भन्दै सोधेका थिए।

प्रचण्डले तत्कालै हाम्रा प्रस्तावमाथिको छलफल हो भन्ने जबाफ ओलीलाई फर्काएका थिए। त्यसपछि ओलीले प्रचण्डलाई लक्षित गर्दै प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नसकिने र उनले आफ्नो प्रस्ताव फिर्ता लिएर माफी माग्नुपर्ने अडान दोहोर्‍याएका हुन्।

ओलीले प्रचण्डले हालसम्म सचिवालय बैठकमा पेश भएका दस्ताबेजलाई समेटेर ‘बुकलेट’ प्रकाशित गरेकोमा पनि प्रचण्डले माफी माग्नु अडान राखेका थिए।

यस्तै ओलीले महाधिवेशनसमम सहमतिमा जानुपर्ने र त्यसपछि मात्रै विधि र पद्धतिको विषय प्राथमिकतामा पर्ने बताएका थिए। ओलीले पर्सि निर्धारित स्थायी कमिटी बैठक पनि सार्ने अडान लिएका थिए। उनको प्रस्ताव अनौपचारिक छलफल नै महत्वपूर्ण हुने भन्ने थियो।

जबाफमा प्रचण्डले आफूले पेश गरेको प्रस्तावमाथि छलफल गर्न जरुरी रहेको अडान दोहोर्‍याएका थिए। उनले आफ्नो प्रस्तावमाथि छलफल नगरौँ भन्नु ओलीले व्यक्तिवादको पराकाष्टा नाघेको आरोप लगाएका थिए।

प्रचण्डले भनेका थिए, ‘प्रस्तावमागि कमिटी बैठकहरुमा छलफल हुनुपर्छ। यसको औचित्य छ। यसलाई रद्धीको टोकरीमा फ्याँक्न हुँदैन। त्यसका लागि यो बनाइएको होइन।’

तर प्रचण्डले आफ्नो प्रस्तावमाथि छलफल हुनुपर्ने अडानका साथ बोलीरहेका बेला ओलीले उनलाई रोकेका थिए।

त्यसपछि सचिवालयका सदस्यहरुले बैठकमा सामेल भएर बोल्न पनि राक्नु कहाँसम्मका हुकुमी शैली भएको भन्दै विरोध गरेपछि ओलीले फेरि प्रचण्डलाई बोल्न दिएका थिए।

प्रचण्डले भनेका थिए,‘ पछिल्लो स्थिति स्थायी कमिटी निर्णय नमान्दा आएको हो। बैठकको माग गर्दा त्यसलाई गम्भीरतापूर्वक नलिएर पत्र पठाइयो। पत्रमा झुठा आरोप लगाईपछि बाध्य भएर हामीले प्रस्ताव दर्ता गरेका हौँ। अब यसबारे छलफल हुनुपर्छ।