नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । ढकाल सत्तारुढ नेकपा सम्बद्ध उम्मेदवार थिए ।

विजयी भएका ढकालले एसोसिएटमा ५२२, बस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।

पराजित भएका अर्का प्रत्यासी किशोर प्रधानले एसोसिएटमा ३७५, बस्तुगतमा ३९ तथा जिल्ला नगरमा ५३ मत पाए ।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् ।

गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनलसहित चुनावी मैदानमा थिए । ढकाल अब अर्को कार्यकालमा ढकाल अध्यक्ष बन्ने छन् ।

सदस्यहरुको नाम सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको शनिबार भएको निर्वाचनमा वस्तुगततर्फ जितेका १४ सदस्यहरुको नाम सार्वजनिक भएको छ।

वस्तुगततर्फ प्रकाशमान सिंह, सुमित केडिया, अरनिको राजभण्डारी, नरेशलाल श्रेष्ठ, भक्तबहादुर हमाल, मनीषलाल प्रधान, मीनमान प्रधान विजयी भएका छन्। त्यस्तै, हेमराज ढकाल, आकाश अधिकारी, गोविन्द ढुंगेल, बिष्णु गैरे, शकुन्तला हिराचन, सुवोध गुप्ता र सन्दीपकुमार अग्रवाल विजयी भएका छन्।

वस्तुगततर्फ वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका ७ जना र किशोरकुमार प्रधान समूहका ७ जना विजयी भएका छन्।

महासंघमा प्रदेशतर्फ

महासंघको प्रदेशतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रदेश–२ बाट विजयकुमार शाह निर्वाचित भएका छन् ।

उनी आफ्ना प्रतिद्वन्द्वी विनोदप्रसाद शाहलाई शतप्रतिशत मतले हराउँदै विजयी भएका हुन्।

शाहले आफ्नो हकमा कुनै मत पार्न सकेनन्। यस्तै लुम्बिनीबाट जसमेर मियाँले १० मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले एक मतको कमीले पराजय भोग्नुपर्‍यो।

उनले ९ मत ल्याए। कर्णाली प्रदेशबाट लालिमान बुढा ७ मत ल्याएर विजयी भने उनले आफ्ना प्रतिद्वन्द्वीलाई पाँच मतले पछाडि पारे।

यसैगरी सुदूरपश्चिमबाट पुष्पराज कुमारले ८ मत ल्याएर जिते भने उनका प्रतिस्पर्धी देवबहादुर रोकाय २ मत ल्याएर पराजय भए। बागमती प्रदेशको मतगणना भने जारी छ।

यस अघि नै प्रदेश १ बाट सो पदमा राजेन्द्र रावत निर्विरोध भएका हुन्। अहिलेसम्म जितेका केन्द्रीय सदस्यहरुमध्ये ६ जनामध्ये ५ जना किशोरकुमार प्रधान समूहका छन्।

जिल्ला नगर उपाध्यक्षमा श्रेष्ठ विजयी

शनिबार राति जारी मतगणनाअनुसार जिल्ला नगर उपाध्यक्ष पदमा दिनेशलाल श्रेष्ठ विजयी भएका छन्।

उनी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोरकुमार प्रधान समूहका हुन्। उनले ५८ मत ल्याएका छन्।

उनका प्रतिद्वन्द्वी गुणनिधि तिवारीले ४७ मत ल्याएका छन्।

तिवारी वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका हुन्।