वरिष्ठ परमाणु वैज्ञानिक मोहसेनको हत्याका दोषीमाथि चट्याङ्ग जसरी बज्रिने इरानको घोषणा

इरानले आफ्ना वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएको बदल लिने वाचा गरेको छ । राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिदेहको हत्या भएको रक्षा मन्त्रालयले पुष्टि गरेको थियो ।

दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीका सैन्य सल्लाहकार होसेन देहघनका अनुसार हत्याका दोषीमाथि चट्याङ्ग जसरी बज्रिने वाचा इरानले गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत माजिद तख्त रावनचीले वैज्ञानिक मोहसेनको हत्या स्पष्ट रुपमा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र क्षेत्रीय विनाश निम्त्याउने ध्येयले भएको बताएका छन् ।

इरानका विदेश मन्त्री मोहम्मद जावाद जारिफले हत्याको निन्दा गरेका छन् । उनले घटनालाई आतंकवादको शंज्ञा दिएका छन् ।

पश्चिमा गुप्तचरहरुले इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक रहेको ठानिएका वरिष्ठ वैज्ञानिकको हत्या भएको हो । उनलाई इरानी बमको पिताका रुपमा चिनिने सन् २०१४ मा एक पश्चिमा कूटनीतिज्ञले समाचार संस्था रोयटर्ससँग बताएका थिए ।

यसअघि सन् २०१० र २०१२ को बिचमा चार इरानी परमाणु वैज्ञानिकको हत्या भएको थियो ।

इरानले आफ्नो परमाणु कार्यक्रम विशुद्ध रुपमा शान्तिपूर्ण प्रयोजनका लागि रहेको दाबी गर्दै आएको छ ।

तर शीर्ष वैज्ञानिकको हत्याको खबर इरानले युरेनियमको उत्पादन तीव्र रुपमा बिस्तार गरिरहेका बेला आएकाले चासो बढाएको छ । परमाणु हतियार उत्पादनका लागि महत्वपूर्ण रहेको युरेनियमको उत्दान इरानले बढाउँदा त्यसलाई लिएर गम्भीर चिन्ता छ ।

सन् २०१५ मा भएको परमाणु सम्झौताबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा अमेरिकालाई बाहिर निकाले पछि इरानले पनि आफू त्यसका सीमाहरुमा बाध्य नुहेन बताउँदै उत्पादन बढाइरहेको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफूले सत्ता सम्हालेपछि पुनः इरानसँग वार्ता गर्ने बताएका छन् ।