अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्।
गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताए।
उनले भने, ‘म गर्वले भन्छु डेमोक्र्याट हुँ, तर राष्ट्रपति म सबै अमेरिकीको बन्ने छु । म सेवा त्यसरी गर्ने छु, जसरी मलाई मत दिनेको गर्छु, उसैगरी विपक्षमा मत दिनेको पनि।’
सम्बोधनको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम लिएका उनले भने, ‘हामी विपक्षी हुन सक्छौँ, शुत्र कदापी होइनौँ।’
उनले आफूले पनि केही चुनावमा हार व्यहाेरेकाे र त्यसको पीडा थाहा रहेको बताउँदै सेवाका लागि अवसर दिन आग्रह गरे । उनले कसैलाई पनि ‘राक्षसीकरण’ गर्ने समयको अन्त्य गरिनु पर्ने बताए।
उनले मतभेदलाई पाखा लगाएर जनताको सेवाका लागि सहकार्य गर्नु पर्ने बेला आएको र त्यसको सन्देश चुनाव मार्फत अमेरिकीले दिएको भन्दै सिनेट तथा हाउसमा रहेका रिपब्लिकनहरुलाई सहकार्यका लागि अपिल गरे।
उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसको कथाले सम्भावनाको मार्ग देखाउने बताउँदै बाइडेनले अमेरिकाको परिभाषा एक शब्दमा ‘सम्भावना’ रहेको बताए।
उनले कुनै पनि समय खेर नफाली देशलाई एकताको शुत्रमा बाँधी विश्वमा अमेरिकाको नेतृत्व पुनः स्थापित गर्नका लागि काम गर्ने उल्लेख गरे।
उनले चुनावको नतिजा सत्य, समभाव, सम्भावना र एकताको सन्देश रहेको बताए।

बाइडनेले सम्बोधनमा आफ्नो प्रशासनका प्राथमिकताहरु प्रस्तुत गरे। उनले भने, ‘हाम्रो पहिलो र टड्कारो प्राथमिकता भनेको कोरोना भाइरसमाथि जित हाँसिल गर्नु हो। त्यसका लागि विज्ञानको विश्वास गरेर काम तत्काल थालिने छ।’
सुस्त बनेको अर्थतन्त्र उकास्न, संस्थागत रुपमा रहेको रंगभेद अन्त्य गरि सबैलाई समान तथा सम्मानित व्यवहारको स्थापना गर्न, सबैको पहुँचमा पुग्ने स्वास्थ्य सेवाको व्यवस्था गर्न तथा संकटमा आएको पृथ्वीको रक्षाका लागि जलवायु परिवर्तन नियन्त्रणमा राख्नका लागि काम गर्ने उनले बताए।
उनले विश्वमा अमेरिकाका उदहारणहरुले नेतृत्व स्थापित गर्ने बनाउनका लागि पनि काम गर्ने उल्लेख गरेका छन्।
सम्बोधनको क्रममा उनले दिवंगत छोरा बो बाइडेनको स्मरण पनि गरे। उनले सबैलाई विश्वास र आस्थाको ठाउँ पुग्ने देश अमेरिका बनाउन आफ्नो प्रयास रहने बताए।