स्थानीय प्रशासनको लापरवाहीले कोरोना संक्रमितको शब व्यवस्थापनमा समस्या
जिल्ला दैविप्रकोप व्यवस्थापन समिति सिन्धुलीले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शब व्यवस्थापनमा लापरबाही गर्दा स्थानीयहरु विरोध मात्रै गरेरनन्, खाल्डो खनिरहेको स्काभेटरनैं नियन्त्रणमा लिए ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने नागरिकको शव व्यवस्थापनका लागि भन्दै कमलामाई नगरपालिका वडा नं. १० को कार्कीखोलाको जंगल प्रयोग गरिने र त्यसको जिम्मा नेपाली सेनालाई दिएको थियो । सो बैठकमा सबै राजनैकित दल, माननीय तथा विभिन्न संघ संस्थाका व्यक्तिहरु सम्मिलित बैठकले गरेको उक्त निर्णयलाई स्थानीय प्रशासनले कार्यान्वयनमा ल्याउन नखोज्दा समस्या सिर्जना भएको हो ।
कोरोना संक्रमणबाट बिहिवार बिहान मृत्यु भएका कमलामाई ५ जरायोटारका ४८ वर्षीय खिलवहादुर मगरको शवलाई सुरक्षाकर्मीले व्यवस्थापन गर्न भन्दै गडौली खोलाको दोभानमा लगेपछि खाल्डो खनिरहेको स्काभेटरलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।

नगरपालिकाको वडा नं. ५, ६ र ७ को सिमास्थलका रुपमा रहेको गडौली दोभानमा उपस्थित स्थानीयले प्रहरीलाईसमेत त्यहाँबाट हिंड्न बाध्य पारेका थिए । स्थानीयको अबरोधपछि सुरक्षाकर्मीले सो शबलाई ग्वांग खोला किनारमा खाल्डो खनेर पुरेको थियो ।
त्यसैगरी यस अघि कोरोनाकै कारण मृत्यु भएकी कमलामाई ६ कि एक महिलाको शव रातीनैं बुका खोलामा लगेर सुरक्षाकर्मीले खाल्डो खनेर पुरेको थाहा पाएका स्थानीयले ७ नंं वडाध्यक्षलाई सो कार्य रोक्न भन्दै दबाब दिएका थिए । कमलामाई नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष कर्ण घिसिंगले स्थानीय प्रशासनले गरेको निर्णयलाई कार्यान्वयन गरेको भए यो समस्या नआउने बताउँछन् ।
