हाइ डिपेन्डेन्सी युनिट धमाधम बढाइरहेका छौँ: स्वास्थ्य मन्त्रालयका प्रवक्ता

दसैँ मनाएर फर्कनेहरुबाट काठमाडौँ उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आँकलन गरिएको छ।

यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। तर जनस्वास्थ्य विद्हरुले भने उपचारको तयारी सँगसँगै समुदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनु पर्ने बताएका छन्।

दसैँ सकिएसँगै यतिवेला देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यका आउनेहरु संख्या बढेको छ। उपत्यका त्यसैपनि कोभिड संक्रमणको उच्च दर रहेको ठाउँ हो। विभिन्न ठाउँबाट आउनेहरुको संख्या बढेसँगै स्वभाविक रुपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ।

सार्वजनिक यातायातमार्फत उपत्यका भित्रिनेहरुमा अझ बढी संक्रमण हुनसक्ने सम्भावना पनि छ। यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आँकलन गरेर सरकारले पूर्व तयारी गरिसकेको बताए।

हाइ डिपेन्डेन्सी युनिट र आइसोलेसन वार्डको तयारी गरिसकेको उनले बताए। यसैले व्यक्ति स्वयंले पनि काठमाडौँ फर्किसकेपछि कम्तिमा एक हप्ता क्वारेन्टिनमा बस्न सरकारले अनुरोध गरेको पनि प्रवक्ता गौतमले बताए।

जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले भने दसैँमा घरबाट फर्किएर काठमाडौँ आउनेहरुबाट संक्रमण फैलनेभन्दा उपत्यकाभित्र रहेकाबाट नै संक्रमण फैलने सम्भावना बढी रहेको बताए। गाउँभन्दा काठमाडौँ उपत्यकामा नै संक्रमण उच्च भएकोले बाहिरबाट आउनेहरु नै जोगिनुपर्ने बताए।