धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित नाबालिकाको मृत्यु भएको छ ।
प्रदेश १ मा हालसम्म कोरोना संक्रमणका क्रममा कम उमेरमा मृत्यु भएको यो पहिलो घटना हो। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङ सुन्दरहरैचा नगरपालिकाकी ५ महिनाकी नाबालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।
मष्तिस्क सम्बन्धित रोगबाट प्रताडित बालिकामा कात्तिक ७ गते कोभिड–१९ संक्रमण पुष्टि भएको हो । नाबालिकालाई गम्भीर अवस्थामा प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा शुक्रबार भर्ना गरिएकोमा बेलुका ७ बजेर ५० मिनेटमा उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार नाबालिकालाई यसअघि विराटनगरको नोबेल शिक्षण अस्पतालमा मष्तिस्क सम्बन्धी रोगको उपचारका लागि भर्ना गरिएको थियो । सोही क्रममा नोबेलमै पीसीआर परीक्षण गराउदाँ उनमा पोजिटिभ पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।
नाबालिकाका आमाबुबामा भने संक्रमण भएको छैन । यससँगै प्रतिष्ठानमा हालसम्म ७२ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।