फुलपातीको दिन बिहानै चन्दनपुरवाका विष्णु नेवा खड्गीका लागि घरमा यस्तो खुशी छायो, कि उनले कल्पनैं गर्न सकेका थिएनन् । एक छोरगी र श्रीमतीसमेत परिवारका तीनै जना सदस्य शारिरिक रुपमा कमजोर छन् । विष्णु गाइहरुसँगै बसिरहेका थिए भने उनकी श्रीमती घर अगाडि उदाउँसो सूर्यलाई हेरेर टोलाइरहेकी थिइन् । ती दृश्य देख्दा लाग्थ्यो, सबैतिर आएको वडा दशैं उनीहरुको घरमा आएकै थिएन र त्यो दशैंले उनीहरुलाई थप पिडा दिइरहेको थियो ।

दुई साता अघि कमलामाई नगरपालिकाले खर परालको छानो अन्त्य गर्ने अभियान अन्र्तगत वितरण गरिएको जस्तापाता घरमा ठोकिएको छ कि छैन भनेर अनुगमन गर्न आएका नगरप्रमुख खड्गवहादुर खत्री एक्कासी भान्साभित्र छिरेर तपाईको घरमा दशैं आएको् छ कि छैन ? भनेर सोधेपछि विष्णु भक्कानिए । चामल त २ पाथी छ तर सामु किन्ने पैसा छैन । कतै भन्नुभएको छ त ? नगरप्रमुख खत्रीको प्रश्नमा उनले भनेः १ धार्नी राँगा र १ धार्नी सँुगुरको मासु भनेको थिएँ तर अहिले त ल्याउनैं नसकिने भयो । तपाईलाई दशैं मान्न कति पैसा चाहिन्छ भन्ने नगरप्रमुख खत्रीको प्रश्नमा उनले २ हजार भए सबै पुग्छ भन्ना साथ गोपीबाट २ हजार रुपैयाँ निकालेर हातमा थमाई दिए । हातमा पैसा समातेका उनको आँखाबाट आँशुका धाराहरु बगे । केही समयको मौनतापछि छेउमा रहेका वडा नं. ९ का अध्यक्ष देवराज पौडेलले उनलाई सोधेः उहाँलाई चिन्नुहुन्छ ? खैं मैंलेत चिन्नै सकिनँ । तपाई घरमा लगाउने जस्ता कस्ले पठाईदियो थाहा छ ? भन्ने प्रश्नमा भने उनले नगरपालिकाले दिएको भन्न भ्याए । त्यही जस्ता पठाउने मेयरसाप हो उहाँ भनेर वडाध्यक्ष पौडेलले भन्नासाथ विष्णुले भनेः आज हाम्रो लागि उहाँ मेयरसाप देउतासमान हुनुभएको छ । उहाँ यहाँ नआउनु भएको भए हामीले दशैंमा मासु पनि खान पाउने थिएनौं विष्णुले भने ।

गाई रहेछ, नजिकै पानी पनि छ, तरकारी लगाउनुस्, बिउ वडा कार्यालयमा निःशुल्क पाइन्छ, त्यसले तपाईहरुलाई घर खर्च चलाउन सहयोग पुग्छ, नगरप्रमुख खत्रीले अपांगसमेत रहेका खड्गीलाई सुझाए ।
कमलामाई नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण खर परालको छाना हटाउने अभियान अन्र्तगत त्यस्ता घरहरुमा जस्ता लगाउन निःशुल्क जस्तापाता उपलव्ध गराएको छ भने वडा कार्यालय र प्राविधिकले त्यसको अनुगमन गरिरहेको छ । वडादशैं अगाडिनैं त्यस्ता घरहरुको छाना फेरिसक्न निर्देशन दिए अनुसार काम अगाडि बढिरहेको नगरपालिकाका प्रवक्ता कर्ण घिसिंगले जानकारी दिनुभयो । उहाँले निर्वाचनका बेला जनताको घर दैलोमा गरिएको प्रतिवद्धता पुरा गर्ने क्रममा खर पातपरालको छाना हटाई जस्तापाता लगाउन थालिएको उल्लेख गर्नुभयो । -बलबीर भुजेल, रानिवास