सबैतिर दशैंको रौनक छ, छिमेकमा राँगा ढालिएको छ, च्वाँ च्वाँ गरेर सुँगुर सेरिएको आजाव आइरहेको छ । सबैको घरमा खुशीयाली छाएको छ तर उनी आफ्नो घरका लालावालालाई चटक्कै छोडेर फुलपातीको दिन बिहानै झोला बोकेर मजदुरी गर्न भारततर्फ निस्किए ।

यो कुनै काल्पनिक कथा होइन, नेपालीहरुको महान पर्व वडादशैं अर्थात फुलपातीका दिन बिहानै कमलामाई नगरपालिका वडा नं. १४ रानिवास स्थित साधुराम माझी दशैंका लागि चाहिने आवश्यक सामाग्रीहरु केही पनि नभएपछि मजदुरीका लागि भारतर्फ जानेभन्दै घरबाट निस्किए ।

एकपाथी चामल र १५ देखी २० घोगा मकैं उनको घरमाछ । चुल्होमा केही पनि पाकेको छैन । वडा दशैंका बीचमा श्रीमती र छोरीलाई छोडेर घरबाट निस्किएका उनी भारततर्फ जान गाडी नपाइने भएपछि भिमान बजार नपुग्दै बीच बाटोबाटै फर्किएपछि उनलाई कलिला लालावालालाई दशैं कसरी मनाइदिने भन्ने कुराले पिरोल्न थालेको छ ।

छिमेकीहरुले फुलपातीको दिन मध्यान्हसम्ममा राँगा र सुँगुरको मासुहरु ल्याएर रमाइलोसँग दशैंलाई मनाइरहेका बेला उनलाई भने दशैं दशामा रुपान्तरण भइरहेको छ ।
प्रदेशखबर अनलाईनसँगको कुराकानीका क्रममा घरमै रहेकी उनकी श्रीमतीले भनिन्ः अरुको घरमा दशैं आइसकेको छ, हाम्रो घरमा केही पनि आएको छैन । खाने चामल त छैन, मासुको कुरा त धेरै टाढा भइहाल्यो नि ? उनले आफ्नो दुखेसो यसरी पोखिन ।












