पूर्वी लद्दाखको डेमचेक सेक्टरमा भारतले एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको छ।
वास्तविक नियन्त्रण रेखा पार गरेर भारतर्फ आइरहेका बेला उनलाई नियन्त्रणलाई लिइएको भारतले दाबी गरेको छ।
भारतीय सेनाका अनुसार उनलाई सबै किसिमका मेडिकल सुविधा, अक्सिजन, खाना तथा न्यानो लुगाहरु दिइएको छ ताकि उचाईमा अत्यधिक चिसोको सामना गर्न सकियोस् ।

भारतीय सेनाका अनुसार चीनको पिपुल्स लिबरेशन आर्मीलाई नियन्त्रणमा लिइएका सैनिकबारे जानकारी दिइएको छ।
सेनाले एक वक्तव्य जारी गरेर आचार संहिता पालना गर्दै पक्राउ गरिएका चिनियाँ सैनिकलाई फिर्ता पठाइने जनाएकाे छ।
चीनको ग्लोबल टाइम्सका अनुसार, पीएलए सैनिक एक गोठालालाई सहयोग गर्ने क्रममा आइतबार राति गल्तीले सीमा पार गर्न पुगेका थिए।
ग्लोबल टाइम्सका अनुसार पिएलए वेस्टर्न थिएटर कमाण्डका प्रवक्ताले भनेका छन्, ‘हामीलाई आशा छ भारतले आफ्नो वाचा निभाउने छ र हाम्रा जवानलाई फिर्ता पठाउने छ।’