सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठले सांसद् विकास कोषको रकम कोरोना रोकथाम र नियन्त्रणमा अर्च गर्न सरकारलाई सुझाएका छन् । उनले सांसद विकास कोष अनावश्यक मात्र नभइ अनुचित समेत भएको बताएको बताए।
सांसद् विकास कोष आवश्यक नभएको भनेर आफूले धेरै पहिल्यैदेखि कुरा उठाएको आएको श्रेष्ठको दावी छ।
प्रवक्ता श्रेष्ठले अवदेखि सांसद् विकास कोष शीर्षकमा बजेटनै नराख्न आग्रह गर्दै यसबारे तत्काल निर्णय गर्न सरकारलाई सुझाव दिए ।
‘मैले पहिले देखि भन्दै आएको छु, सांसद् विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ’, प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अहिले कोभिड–१९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम कोभिड–१९ कोषमा राखौं र अबदेखि यो शीर्षकमा बजेट नराखौं। यो सही छ। निर्णय गरिहालौं।’
कोरोनाको संकटका बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा गर्ने निर्णय गरेसँगै सांसद् विकास कोषको रकम कोरोना कोषमा राख्नुपर्ने माग उढ्न थालेको बेला प्रवक्ता श्रेष्ठले यस्तो आग्रह गरेका हुन्।
संघीय सरकारले सांसद् विकास कोषअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रलाई ६ करोड र प्रदेश सरकारले १ करोड ९२ लाख दिँदै आएका छन् । सो रकम राष्ट्रिय योजानामा नपरेका र सांसदले आवश्यक देखेका विकास योजनामा खर्च गर्ने भनिए पनि त्यसको दुरुपयोग हुँदै आएको छ।