काठमाडौ: सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले छानवीनमा सहयोग पुगोस् भनेर पद छाडेको भन्दै आफ्नो बचाउ गरेका छन्।
बास्कोटाले शनिबार ट्वीट गर्दै आफूमाथि प्रश्न उठेपछि राजीनामा दिएकाे भन्दै उनले आफ्नो तुलना पूर्वप्रधानमन्त्री कीर्तिनिधी विष्ट र पूर्वमन्त्री केशरबहादुर विष्टसँग गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रहरुलाई छनविन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ। सिंहदरबार जल्नासाथ कीर्तिनिधी विष्ट र रंगशालामा दुर्घटना हुनासाथ केशरबहादुर विष्टले राजिनामा दिए बाहेक कसले मैले जसरी राजीनामा दिएका छन्? अझ म अनैतिक र भ्रष्ट? बात गर्छन्!’
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदका लागि स्वीस कम्पनीका स्थानीय एजेन्टसँग कमिसन माग गरेको अडियो अडियो सार्वजनिक भएपछि गत फागुन ८ गते राजीनामा दिएका थिए।
उनी अहिले पनि प्रधानमन्त्री ओलीको बालकोटस्थित घरमा बस्दै आएका छन्।











