प्रधानमन्त्री ओलीले भेटघाट रोकेपछि नेकपाको सचिवालय बैठक अनिश्चित

नेकपाको सचिवालय बैठक, वालुवाटार, फाइल फोटो

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज आइतबार अपरान्ह ४ बजे बस्ने भनिएको सचिवालय बैठक अनिश्चित् बनेको छ । प्रधानमन्त्रीको सचिवालयका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीले भेटघाट स्थगित गरेको बालुवाटार स्रोतले भनेको छ ।

वरिष्ठ नेता तथा सचिवालय सदस्य झलनाथ खनालका अनुसार आज अपरान्ह तय भएको सचिवालय बैठक केही समयका लागि अनिश्चित् भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि सजगताका लागि बैठक अनिश्च्ति भएको उनले बताए । बैठक बस्ने नबस्नेबारे पुनः कुनै सुचना नआएकाले आजको बैठक नबस्ने निश्चित् भएको उनले जानकारी दिए।

असोज ६ गते मंगलबार बसेको सचिवालय बैठकले १० दिनको म्याद दिएर अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित महासचिव विष्णु पौडेललाई साँगठनिक एकताका बाँकी काम पूरा गर्नेगरी खाका बनाउने जिम्मेवारी दिएको थियो । यसबीचमा दुई अध्यक्षबीच नियमित बैठक बसेको थियो ।

आज तय भएको सचिवालय बैठकमा अध्यक्षद्वयले केही सहमतिको आधारबारे तयार गरेको प्रस्तावमाथि छलफल हुनसक्ने विश्वास गरिएको थियो । तर कोरोना संक्रमणले बैठक अनिश्चित् भएपछि अध्यक्षद्वयलाई सहमतिको थप समय प्राप्त भएको छ । त्यस्तै, सचिवालय बैठकको एक नम्बर कार्यसूचीमा रहेको मन्त्रिपरिषद पुनर्गठनको सहमति गर्ने जिम्मा पनि दुई अध्यक्षलाई छ । उनीहरुबीच अझ त्यस विषयमा ठोस सहमति भइनसकेको सचिवालयका सदस्यहरुको बुझाई छ ।

सचिवालयका अन्य कार्यसूचीमा संवैधानिक निकायमा पदपूर्ति गर्नेबारे सहमति गर्ने, नेकपा केन्द्रीय सदस्यहरुको बैठक भत्ता लगायतका विषय थिए । सचिवालय बैठक बस्ने अवस्था नरहेपछि ती विषय पनि हालका लागि थातीरहने भएका छन् ।