राजधानी दाङमा राख्ने प्रस्तावको विरोधमा नेपाली कांग्रेसले आन्दोलन

प्रदेश ५ सरकारले आफ्नो स्थायी राजधानी दाङको भालुवाङलगायतको क्षेत्रलाई समेटेर राप्ती किनारमा राख्ने निर्णय गरेपछि प्रतिपक्षी कांग्रेसले शुक्रबारदेखि आन्दोलन नै घोषणा गरेको छ । नेकपा सरकारको हठात निर्णय र प्रतिपक्षीको विरोधले प्रश्न जन्माएको छ– प्रदेश ५ को राजधानी बुटवलमै राख्नु उचित छ कि दाङमा ?

प्रदेश ५ को राजधानी बुटवलमा राख्ने कि दाङमा भन्ने विवाद केही वर्ष अघिदेखि नै चल्दै आएको हो । अहिले नेकपा सरकारले दाङमा राजधानी राख्ने निर्णय गरेपछि यो विवाद पुनः सतहमा आएको छ र कांग्रेसका कार्यकर्ताले बुटवलमा सडक तताउन थालेका छन् ।

नक्साको हिसाबले मात्र होइन, आवत–जावतको हिसाबले पनि बुटवलमा राजधानी राख्दा बाँके, बर्दिया, रुकुम, रोल्पा र प्युठानका जनतालाई राजधानीसम्म आउन टाढा पर्छ । तर, भालुवाङ उनीहरुका लागि बुटवलभन्दा नजिक पर्छ ।

अझ, दाङको पनि सदरमुकामतिर नभई अर्घाखाँची, कपिलवस्तु र प्युठानको सीमाक्षेत्रमा पर्ने भालुवाङ क्षेत्रमा राजधानी तोक्दा पश्चिमी जिल्लाका जनतालाई पायक पर्ने देखिन्छ ।

भालुवाङको तुलनामा बुटवलमा राजधानी बनाउँदा पश्चिमी जिल्लाका जनतालाई निकै नै टाढा पर्न जाने देखिन्छ ।

तर, बुटवल नै स्थायी राजधानी हुनुपर्छ भन्ने नेताहरुको तर्कचाहिँ भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र काठमाडौं आवागमनको सहजतालाई हेरिनुपर्ने रहेको छ ।

रुपन्देहीमै घर भएका कांग्रेस नेता बालकृष्ण खाँड भौतिक पूर्वाधार, केन्द्रीय राजधानी काठमाडौं आवागमनमा सहजता, निर्माणाधीन भैहरवा अन्तरराष्ट्रिय विमानस्थल र सुरक्षाको कोणबाट बुटवल नै स्थायी राजधानीका लागि उपयुक्त हुने तर्क गर्छन् ।

प्रदेश ५ को सबैभन्दा ठूलो सहर हो बुटवल । नेपालको प्रमुख व्यापारिक नाका भैरहवा पनि यही शहरको दक्षिणी भागमा पर्छ । ऐतिहासिक लुम्बिनी पनि यही जिल्लामा पर्छ । कपिलवस्तुको तिलौराकोट पनि यसको नजिकै छ ।

यसका साथै प्रदेशका ठूला नेता एवं घरानिया व्यापारीहरुको प्रभाव बुटवलमा छ ।साथै अर्घाखाँची, पाल्पा र गुल्मीका नेताहरु पनि दाङ भन्दा बुटवल नै आफ्नो पायक पर्ने स्थल ठान्छन् ।

कांग्रेसका केन्द्रीय नेता बालकृष्ण खाँड, राप्रपाका दीपक बोहोरा र नेकपाका विष्णु पौडेल, घनश्याम भुसाललगायतका नेताहरु बुटवलकै हुन् । विगतमा भोट माग्दा उनीहरुले कुनै न कुनै रुपमा बुटवललाई स्थायी राजधानी बनाउन पहल गर्ने आश्वासन दिएका थिए ।

यसरी ठूला नेताहरुको पहुँचका आधारमा बुटवललाई नै प्रदेशको स्थायी राजधानी बनाउन सकिने आशा बुटवलबासीले गर्दै आएका थिए । ठीक यहीबेला नेकपा सरकारले हठात् रुपमा दाङलाई राजधानी बनाउने प्रस्ताव ल्याएपछि बुटवलमा आक्रोश देखिनु स्वाभाविकै हो  प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव शुक्रबारको संसद वैठकमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलन सुरु गरेको छ ।

उक्त प्रस्ताव प्रदेशसभामा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले बुटवल, मणिग्राम र सैनामैनामा सडकमा उत्रिएर विरोध जनाएका छन् । पार्टीका भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।