सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा मामिध्यिमिक विद्यालयको व्यवस्थापन समिति तथा अभिभावको आग्रहपछि पठन पाठन सुचारु गरिएको छ ।
विद्यालयमा केही दिन अगाडि बढेको व्यवस्थापन समिति एवम् अभिभावकको संयुक्त बैठकले विद्यार्थीहरुको भविश्य अन्धकारतर्फ धकेलिएको निश्कर्ष निकाल्दै आफ्ना छोराछोरीको स्वास्थ्यको जिम्मा आफैंले लिनेगरी विद्यालयका भौतिक दुरी कायमगर्दै पठन पाठन सुचारु गर्न थालिएको विद्यालय व्यवस्थापन समितिका सदस्य हेमवहादुर थापाले जानकारी दिए ।

उनका अनुसार अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालयमा पढाउन र कोभिड १९ को जोखिम उत्पन्न भएको त्यसको सम्पूर्ण जिम्मेवारी आफुहरुनैं हुने बताएपछि शिक्षकहरुले विद्यालयमा पठन पाठन सुचारु गरेका हुन् । विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्ले भन्छन्ः हामी सबैजना केही न केही त गरौं भनिरहेकै थियौं, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुले पठान पाठन सुचारु गर्न र आफ्ना छोरा छोरीको सुरक्षाको सम्पूर्ण जिम्मेवारी स्वमयं अभिभावककै हुने बताएपछि भौतिक दुरी कायम गरेर पढाउन थालेका हौं । कक्षा कोठाभित्र पढाउँदै गरेको अबस्थामा भेटिएका प्रधानाध्यापक काफ्लेले विद्यालयमा उपस्थित हुने सबै कक्षामा पठन पाठन सुचारु गरेको जानकारी दिए ।

स्मरणीय छ, कमलामाई नगरपालिकाले स्थानीय समुदाय र अभिावकहरुको निर्णयका आधारमा विद्यालयमा पठन पाठन सुचारु गर्न निर्देशन दिएको थियो ।

यसैबीच निजी विद्यालयहरुले पनि कक्षा ९ र १० को पठन पाठन सुरु गरेका छन् । अन्य कक्षाको भने बैकल्पिक माध्यमबाट पठन पाठन सुचारु गरेका उनीहरुले ठूला कक्षालाई बढी प्राथमिकता दिएको बताइएको छ । अभिभावकको आग्रहपछि विद्यालयले सातै दिन विद्यालयमा पठन पाठन गर्ने कार्यतालिकानैं निर्माण गरेर अगाडि बढेको छ ।

