कोरोनाको खोप व्यापक रुपमा प्रयोग हुनु अघि नै २० लाख मानिसको ज्यान जान सक्ने डब्लूएचओको चेतावनी

कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ ।

कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप व्यापक रुपमा प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसको ज्यान जान सक्ने डब्लूएचओले चेतावनी दिएको हो । डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले अन्तर्राष्ट्रिय एकता बिना कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या सोचेभन्दा धेरै हुने बताए ।

कोरोना सङ्क्रमणका कारण अहिलेसम्म झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ । उत्तरी गोलार्धमा जाडो महिना सुरु हुन थालेसँगै कोरोना भाइरसको दोस्रो लहर सुरु हुन थालेको बीबीसीले जनाएको छ । अहिलेसम्म अमेरिका, भारत र ब्राजिल गरी तीन देशमा मात्रै एक करोड ७८ लाखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिकामा ७२ लाख ३३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ८ हजारको ज्यान गएको छ । यस्तै ५९ लाखमा कोरोना पुष्टि भएको भारतमा ९३ हजारको ज्यान गएको छ । ब्राजिलमा ४६ लाख ८९ हजारमा कोरोना पुष्टि भएको छ भने १ लाख ४० हजारको ज्यान गएको छ । अहिले विश्वभर ३ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ४१ लाख निको भएका छन् भने ९ लाख ९२ हजारको ज्यान गएको छ ।