सिन्धुपाल्चोक पहिरो अपडेटः ११ जनाको शव भेटियो, २० जना अझै बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जनाएको छ। जसमध्ये ६ महिला, तीन पुरुष, एक बालक र एक बालिका रहेका छन्।

जिल्ला प्रहरीका कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना अझै बेपत्ता छन् भने ६ जनाको जिवितै उद्दार गरी उपचारका लागि पठाइएको छ। बेपत्ता हुनेमा भिरखर्कका तीनजना, नाकपुछेका १६ र नेवार टोलका १ जना रहेका छन्। पहिरोले २२ घर पुरेको थियो।

आइतबार बिहान सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित भिरखर्क, नाकुचे र केम्बे गाउँमा पहिरो गएको थियो। इलाका प्रहरीका कार्यालय बाह्रबिसे, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार कार्य जारी राखेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको लिदीमा गएका साउन ३० गते गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।