एसिडपीडितले उपचार गर्दा घरखेत धितो राख्नुपर्ने र तिर्न नसक्दा बैंकले लिलामी गर्ने अवस्था छ, अब उपचारको जिम्मा राज्यले लिने र आक्रमणकारीको सम्पत्तिबाट क्षतिपूर्ति र भरणपोषण हुने गरी १५ दिनभित्र कानुन ल्याउने प्रधानमन्त्रीको बाचा
प्रधानमन्त्री केपी ओलीलाई भेटेपछि पवित्रा कार्कीको मुहारमा खुसीको रंग देखिएको छ । पीडाले पोलेको मन शीतल भएको छ । एसिडपीडितको जीवन सहज र सम्मानजनक हुनेछ भन्ने आशा पनि पलाएको छ ।
एसिडपीडितले आफ्नो पीडा पोख्न थालेको धेरै भयो । उनीहरूले विभिन्न सामाजिक संस्था, अड्डा–अदालत र संसद्को समेत चक्कर लगाइसकेका छन् । बिहीबार उनीहरूले देशका कार्यकारी प्रमुख ओलीसँग बालुवाटारमा भेट्न पाए, आफ्ना गुनासा राख्न सके । सबैभन्दा ठूलो कुरा, प्रधानमन्त्रीबाट वाचा पनि सुन्न पाए ।
८ साउनमा सीतापाइलामा एसिड आक्रमणमा परेपछि पवित्रा अहिलेसम्म अस्पतालमा छिन् । अस्पतालबाटै उनी सोमबार बालुवाटार पुगिन्, र बालुवाटारबाट अस्पताल नै फर्किइन् । उनको उपचारको ‘कोर्स’ अझै लामो छ । तर, जीवनप्रति विश्वास धेरै बढेको छ ।
‘एसिड आक्रमणमा परेको दिनदेखि आज हो पहिलोपटक मन शीतल भएको, प्रधानमन्त्रीले हाम्रा कुरा सुन्नुभयो, आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन ल्याउँछु भन्नुभयो । पीडितको उपचारको व्यवस्था सरकारको हो भनेर घोषणा गर्नुभयो,’ उनले भनिन् ।
एसिड आक्रमणले महिलाको व्यक्तित्वमाथि भएको हमलाको क्षति बेहिसाब छ । आर्थिक खर्च पनि अथाह छ । त्यसको भुक्तभोगी पवित्राको परिवार पनि हो । ८ साउनको राति काठमाडौं सीतापाइलामा २२ वर्षीया पवित्रामाथि एसिड प्रहार भयो । लगत्तै दिदी सुनिताले कीर्तिपुर अस्पताल लिएर गइन् । अस्पताल पु¥याउना साथ १० हजार रुपैयाँ धरौटी मागियो । तर, सुनितासँग मात्र एक हजार थियो । उनले हारगुहार गरेर बहिनीलाई अस्पताल भर्ना गराइन् । हाल कीर्तिपुर अस्पतालमा पवित्राको उपचार चलिरहेको छ । त्यससँगै उनको परिवार आर्थिक संकटमा परेको छ । उपचारमा लाखौँ खर्च भइसक्यो । -आजको नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।











