युनिसेफले नेपाललगायतका देशलाई कोभिड–१९ खोप किन्न सहयोग गर्ने

नेपाल लगायत दर्जर्नौ देशलाई संयुक्तराष्ट्रसंघको बालबालिकासम्बन्धी नियोग युनिसेफले सहयोग गर्ने भएको छ ।

निम्न तथा निम्नमध्यम आय भएका नेपालसहित ९२ देशहरूका निम्ति कोभिड–१९विरूद्धको खोप आपूर्ति गर्न युनिसेफले सहजीकरण गरिदिने युनिसेफले जनाएको हो ।

युनिसेफले जारी गरेको विज्ञप्तिमा विभिन्न खोप उत्पादकहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिरहेको समयमा उसले कोभ्याक्स सुविधाको तर्फबाट ती देशहरूका निम्ति खोप खरिद गरी आपूर्ति गर्ने उल्लेख गरिएको छ ।
साथै उसले ढुवानी, बन्दोबस्ती तथा भण्डारणको काम गर्ने छ।

सो कार्य पूरा गर्न युनिसेफले विश्व स्वास्थ्य सङ्गठन,खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभी, विश्व बैंक, अमेरिकी स्वास्थ्य सङ्गठन प्यनज, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनलगायतका संस्थासँग सहकार्य गर्ने जनाएको छ।

युनिसेफ काठमाडौ कार्यालय सञ्चार प्रमुख तानिया धाख्वाले यी विषयका विस्तृत जानकारी आगामी साताहरूमा आउने धारणा सार्वजनिक गरेकी छिन ।

विकसित तथा धनी देशबीच खोपको सुविधा उपभोग सबभन्दा पहिले गर्न संसारमा प्रतिस्पर्धा चलिरहेका बेला गरिब तथा कमजोर मुलुकहरूका निम्ति यो सञ्जाल उपयोगी हुने बताइएको छ।