सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्दैछ। बैठक ३बजे पछिका लागि सारिएको छ ।
बैठकमा राष्ट्रियसभा सदस्यमा वामदेवा गौतमलाई नियुक्त गर्ने वा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।
गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने यसअघि भएको सहमति कार्यान्वयन गर्न दबाब दिएका छन्। प्रधानमन्त्री ओली अझै पनि खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् । तर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पूर्व सहमति अनुसार गौतमलाई पठाउनु पर्ने पक्षमा उभिएका छन् ।
राष्ट्रियसभामा सरकारले मनोनित गरेको कोटामा नियुक्त भएका अर्थमन्त्री खतिवडाको दुई वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो ।
सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुने पाउने संवैधानिक व्यवस्थाअनुसार खतिवडा शनिबारसम्म मात्र मन्त्री हुन पाउने र यो अवधिमा संघीय संसदको सदस्य नभएमा स्वतः पदमुक्त हुने व्यवस्था छ ।
प्रधानमन्त्री ओली खतिवडालाई नै सांसद बनाएर अर्थमन्त्रीमा निरन्तरता दिने चाहना देखाए पनि गौतमले पार्टीभित्र अब उक्त स्थानमा आफूलाई पठाउनु पर्ने अडान लिएका छन् । सचिवालयका बहुमत सदस्य गौतमको पक्षमा रहेका छन् ।
बिहीबारको बैठकले राष्ट्रियसभामा कसलाई पठाउने भन्नेबारे निर्णय गर्ने सम्भावना छ । सचिवालय बैठकबारे बुधबार बेलुका ओली र दाहालबिच बालुवाटारमा छलफल भएको थियो । स्रोतका अनुसार बिहीबारको बैठकमा कसको पक्षमा निर्णय गर्ने भन्ने विषयमा दुई नेताबिच छलफल भएको थियो ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गौतम राष्ट्रिय सभामा नजाने बताएसँगै खतिवडालाई सिफारिस गर्ने बचन नै दिइसकेको ओली निकटका नेताहरु बताउँछन् । तर, अहिले गौतमले आफ्नो धारणा फेर्दै पुनः जाने मनसाय राखेपछि पनि गौतमलाई चिढ्याउने अवस्थामा भने ओली नरहेको बताइन्छ ।
त्यसैले ओलीले सहमति खोज्ने प्रयास गरेका हुन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला ६ बुँदे प्रस्ताव अघि सारेर आफूलाई साथ दिएका गौतमलाई ‘एडजस्ट’ गरेरै जानु उपयुक्त हुने ओलीको बुझाई छ । यसो गर्दा पार्टी निर्णय कार्यान्वयन गरेजस्तो पनि देखिने र गौतम आफ्नै कित्तामा उभिने भएकाले गौतमको प्रस्ताव यो पटक अस्वीकार गर्ने पक्षमा ओली नभएको उनी निकट स्रोतको भनाइ छ । तर गौतमलाई स्थान दिँदा खतिवडा भने मन्त्रिपरिषदबाट बाहिरिनुपर्ने हुन्छ । किनभने यो क्याविनेटमा खतिवडा नै प्रधानमन्त्रीका खास विश्वासपात्र मन्त्री हुन् जो, ओलीले जे भन्यो त्यही मान्छन् । यदि खतिवडालाई निरन्तरता दिन नसके र समिकरण नमिले ओलीले अर्का विश्वासिला पात्र महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिन चाहेको बुझिएको छ ।
‘यदि यो विकल्पमा दुई अध्यक्षबीच कुरा मिलेमा खतिवडा भदौ २१ पछि पूर्वअर्थमन्त्रीमा सीमित हुनेछन्’, ओली निकटकै एक स्थायी समिति सदस्य भन्छन्, ‘गौतमका विषयमा फागुनको निर्णयलाई वैशाखको निर्णयले खारेज गरिसकेको छ । यदि उहाँ (गौतम) राष्ट्रिय सभामा जाने अड्डी मै रहनुभयो भने पुनः सचिवालयले निर्णय गर्नसक्छ तर मन्त्री हुने सम्भावना संविधानतः कमै देखिन्छ ।’
विकल्प यो पनि हुनसक्छ
ती नेताका अनुसार यस्तो अवस्थामा नेताहरुबीच अन्य विकल्पमा पनि छलफल हुनसक्छ । त्यो भनेको गौतम र खतिवडा दुवैलाई राष्ट्रिय सभामा लैजान कुनै एक सदस्यलाई राजीनामा दिन लगाउने । यसो गर्दा खतिवडा र गौतम दुवैको व्यवस्थापन गर्न सकिने विकल्प भए पनि त्यसो गर्दा त्यति राम्रो सन्देश नजाने भएकाले नेताहरु सकभर त्यो विकल्पमा गैहाल्छन् भन्न सकिदैन ।
त्यसो गर्दा फेरि नेकपामा रहेको तीन समुहमध्ये कसको मान्छेलाई ब्याक (फिर्ता) गर्नेभन्ने प्रश्न उठ्छ । त्यसका लागि पहिलो रोजाई राष्ट्रपतिबाट मनोनित हाल सांसद रहेकामध्येबाट एक जनालाई पार्टीले फिर्ताका लागि प्रस्ताव गर्नसक्छ तर त्यसका लागि एक महिला अनिवार्य भएकाले महिलालाई राजीनामा गर्न लगाउन मिल्दैन । त्यो अवस्थामा प्रचण्ड पक्षका रामनारायण विडारीलाई फिर्ता बोलाउनुपर्ने हुन्छ । तर गौतमका लागि विडारीको राजीनामा माग्न त्यति उचित हुनेछैन र प्रचण्ड त्यसमा सहमत हुने छैनन् । विडारी पूर्वमाओवादी पक्षका भनेर चिन्निछन् । यस्तो अवस्थामा यो विकल्प पनि काम लाग्ने देखिदैन । यस्तो बेलामा नेपाल पक्षबाट पनि मैदान खाली गर्ने पक्षमा कुनै सांसद तयार हुने देखिदैनन् ।
त्यसकारण बरु ओली पक्षकै एक निर्वाचित सांसदलाई राजीनामा गर्न लगाएर उनको ठाउँमा गौतम र खतिवडा दुवैलाई सिफारिस गर्ने विकल्पमा समेत छलफल हुनसक्ने सम्भावना रहेको नेकपाका एक नेता बताउँछन् ।