चीन र भारतका सैनिकबीच लद्दाखमा फेरि तनाव

पूर्वी लद्दाखको सीमालाई लिएर भएको सहमतिको चीनले उल्लंघन गरेको भारतले सोमबार वक्तव्य जारी गरेर आरोप लगाएको छ।

चीनले सैनिकलाई उक्साउने खालका गतिविधि गरेर सीमा अहिलेको यथास्थितिलाई परिवर्तन गर्ने कोशिश गरेको भारत सरकारले बताएको छ।

चीनले उक्साउने खालका गतिविधि गरे पनि भारतीय सैनिकले त्यसलाई रोकेको भारतको बयानमा दाबी गरिएको छ।

भारतीय सैनिकको वक्तव्य भारत सरकारको प्रेस इन्फरमेशन ब्यूरो (पिआइबी) को तर्फबाट जारी गरिएको हो।

वक्तव्यमा भनिएको छ, ‘भारतीय सैनिकले पांगोङ्ग त्सो लेकमा चिनियाँ सैनिकको उक्साउने खालको गतिविधिलाई रोकेको छ । भारतीय सेना संवाद मार्फत शान्ति स्थापना गर्ने पक्षमा छ, र योसँगै आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिवद्ध छ । विवाद समाधानका लागि ब्रिगेड कमाण्डर तहमा बैठक जारी छ ।’

सीमा क्षेत्रमा अगस्ट २९ को राति झडप भएको भारतीय सेनाले जानकारी दिएको छ।

भारतीय सैनिकका अनुसार चीनको पिपल्स लिब्रेशन आर्मी (पीएलए) ले सीमा क्षेत्रमा अवस्था परिवर्तनको प्रयास गरेको र आफूहरुले त्यो असफल पारेको दाबी गरेको छ। झडपमा क्षति भए नभएको बारे स्पष्ट पारिएको छैन।

यसअघि गएको जुन १५ मा गलवान उपत्यकाको सीमा क्षेत्रमा भारत र चीनका सेनाबिच भिडन्त हुँदा २० भारतीय सैनिकको ज्यान गएको थियो।

त्यसपछि दुई देशबिच तनाव जारी छ। तनाव कम गर्नका लागि सैनिक तथा कूटनीतिक तहमा वार्ता भइरहेको छ।