विप्लव कार्यकर्ताद्धारा अपहरित शिक्षक मुक्तः एक महिला पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सिन्धुलीको बाहुन तिल्पुङबाट नियन्त्रणमा लिएका शिक्षक अपहरण मुक्त भएका छन् । तीनपाटन गाउँपालिका ८ तिल्पुङ्ग डाडाबाट विप्लव समुहको नियन्त्रणमा परेका शिक्षक साढे चार घण्टा पछि प्रहरीको प्रयासमा मुक्त भएका हुन् । भिमसेन आधारभूत विद्यालयका प्रध्यानध्यापक नारायणप्रसाद भण्डारी विप्लवका कार्यकर्ताबाट नियन्त्रण मुक्त भएका हुन् । विद्यालयमा विद्यार्थीलाई छात्रबृति वितरण गर्दै गरेको अवस्थामा विप्लवका कार्यकर्ताहरुको एक समुहले विहान ९ः३० बजे उनलाई नियन्त्रणमा लिएको थियो ।
प्रअ अपहरणमा परेको भन्दै विहान ११ बजे प्रहरीले जानकारी पाएको थियो । सूचना प्राप्त गर्नासाथ प्रहरीले खोजी गर्दा दिउँसो १ वजे तिनपाटन गाउँपालिकाको लायोगाउँबाट अपहरित शिक्षकलालाई नेकपाका कार्यकर्ताले छोडेर भागेका थिए । प्रहरी र स्थानीयले शिक्षकको खोजीगर्न थालेपछि शिक्षलाई छोडेर विप्लवका कार्यकर्ताहरु फरार भएको स्क स्थानीयले जानकारी दिए ।
उक्त घटनामा संलग्न एक जना महिला कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । पक्राउ परेकी महिलाको साथबाट दुई वटा सकेट बम र एक सुतली बम फेला परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।