काठमाडौ: शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने निर्णय प्रदेश र स्थानीय सरकारका कारण फिर्ता लिनु परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले उपत्यकाबासीलाई शुक्रबार र शनिबार बाहिर जाने दिने निर्णय गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्ना आधिकारिक फेसबुक पेजमा सूचना राखेको थियो।
यो सूचना एकाएक भाइरल भएको थियो। तर रक्षामन्त्री ईश्वर पोखरेल र गृह मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै समाचार झुटो भएको र त्यस्तो निर्णय नभएको बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो पुरानो स्टाटसलाई सम्पादन गर्दै तल लेखेको छ- स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोलि र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ ।
उच्चस्तरीय समितिको निर्णय बाहिरिएलगत्तै प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले आपत्ति जनाएका थिए। सामाजिक सञ्जालमा उनले लेखेका थिए- काठमाडौँबाट बाहिर जान दिने र वाहिरवाट काठमाण्डौ जान नदिनेकुरा सत्य होइन। लकडाउनको अर्थ लकडाउननै हो।वरु वेखर्चीलाई राहत दिने हो।

गृह मन्त्रालयले पनि एक विज्ञप्ति प्रकाशित गरी काठमाडौँ उपत्यकाबाट बाहिर जान दिने निर्णय नभएको जानकारी गराएको थियो।











