नेपाली सेनाको चरम यातनाबाट चेपाङ युवकको मृत्यु

मानव अधिकार तथा शान्ति समाजले चितवनको राप्ती नगरपालिकामा एक चेपाङ युवकको मृत्यु नेपाली सेनाको चरम र बर्बर यातनाबाट भएको निष्कर्ष निकालेको छ।

साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु चितवन राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ खटिएका नेपाली सेनाको बर्बर यातनाबाट भएको  मानव अधिकार तथा शान्ति समाजले जनाएको छ।

अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै समाजले  उक्त घटना राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन  र मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर गरेको छ।

उक्त यातनाको घटनामा संलग्न सैनिक जवानलाई कानुन सम्मत कारबाही गर्दे सार्वजनिक गरी नेपाली सेना यातना विरुद्धको अन्तर्राष्ट्रिय  महासन्धिको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न माग गरिएको छ।