दाहसंस्कारपछि कोरोना पुष्टि, मलामी क्वारेन्टिनमा

सिरहामा एकजना पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। सिरहाको मिर्चैया नगरपालिका वडा नं ४ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

भदौ ३ गते मृत्यु भएका पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कँडेलले जानकारी दिए।

भदौ २ गते गाउँमै उनको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाइएको थियो। उनको पिसिआर रिपोर्ट नआउँदै भदौ ३ गते मृत्यु भएको प्रजिअ कँडेलले बताए।

मृतक मधुमेह तथा उच्च रक्तचापको बिरामी थिए। रिपोर्ट नआउँदै ती पुरुषको मृत्यु भएपछि उनको हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको थियो। उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनको मलामी गएका २० जनालाई अहिले क्वारेन्टिनमा राखिएको जानकारी दिए।

क्वारेन्टिनमा बसेकाहरुको पाँच दिनपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइने उनले बताए।

‘मधुमेह र हाई बल्डप्रेसरका बिरामी थिए। तर पनि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। रिपोर्ट नआउँदै उनको शव लापरबाही ढंगले परिवारजनलाई बुझाइयो। अहिले मलामी गएका सबैको कन्ट्याक्ट ट्रेसिंगमार्फत ती सबैलाई क्वारेन्टिनमा राखिएको छ’, प्रजिअ कँडेलले भने, ‘पाँच दिनपछि तिनीहरुको स्वाब टेष्ट गरिन्छ।’ यससँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।