क्षिरेश्वरनाथ नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ। नगरप्रमुख योगेन्द्र पजियारले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे जानकारी दिए।

जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ।

प्रमुख पजियारले शुक्रबार पीसीआर जाँच गराएका थिए। संक्रमण पुष्टि भएका प्रमुख पजियार अहिले होम आइसोलेसनमा रहेका छन्। कोरोनाको संक्रमण पुष्टि भएपनि लक्षण भने नदेखिएको उनले बताए।

उनले भने, ‘मलाई हल्का ज्वरो आएको थियो। पीसीआर जाँच गराउँदा कोरोना संक्रमणको पुष्टि भएको हो। संक्रमणको पुष्टि भएपनि अहिले त्यस्तो कुनै लक्षण देखिएको छैन। म अहिले होम आइसोलेसनमा छु।’

उनले पछिल्लो केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आफ्नो पीसीआर जाँच गराउन आग्रह गरेका छन्।

प्रमुख पजियारसंगै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ की ४८ वर्षिया एक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै महोत्तरीको भंगहा नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष अशोक कुमार महतोमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।