
प्रदेश एकका मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यसहित थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। आइतबार कोशी अस्पतालमा गरिएकाे परीक्षणमा थप ९ जनामा काेराेना पुष्टि भएकाे विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ।
५१ वर्षीय मुख्य न्यायाधीवक्ता आचार्यसहित अन्य ९ जनामा संक्रमण देखिएको हो। मुख्य न्यायधिवक्ता आचार्यसँगै उनकी श्रीमती र २३ वर्षीय छोरामा समेत संक्रमण देखिएको महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।
विराटनगर महानगरपालिका ५ स्थायी घर भएका मुख्य न्यायाधीवक्ता आचार्यलाई ५/६ दिनदेखि ज्वरो आइरहेको बताइएको छ। सोही अवस्थामा उनले आइतबार राति श्रीमती र छोराको समेत पीसीआर परीक्षण गराएका थिए।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी घरभित्रै बस्दै आएका थिए। हाल उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ अस्पताल लगिएको छ।
यस्तै विराटनगर न्यूरो अस्पतालमा कार्यरत २४ वर्षीया दुई र २८ वर्षीया एक कर्मचारीमा समेत संक्रमण पोजेटिभ देखिएको छ। महाशाखाका अनुसार म्याक्स अस्पतालका ३४ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ। मोरङकै कटहरी गाँउपालिकाकी ४८ र २० वर्षीया महिलामा समेत संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।
कोशी अस्पतालमै गरिएको परीक्षणमा आइतबार बिहानको पहिलो रिपोर्टमा मोरङ र झापाबाट गरी कुल १८ जनामा संक्रमण पुष्टि भएको थियो। यससंगै विराटनगर महानगरपालिकामा हालसम्म १ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ।