सिन्धुलीमा आए भारतीय नागरिकहरु, कोरोनाको जोखिम बढ्यो


भारतको बिहार तथा तराईका जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढेसँगै सिन्धुली जिल्लामा भारतीय तथा जोखिमपूर्ण क्षेत्रबाट नागरिकहरु आउने क्रम बढेर गएको छ । स्थानीय वासिन्दाका अनुसार अहिले धुराफाँट, रातमाटा प्लानिंग तथा ढुंग्रेवास क्षेत्रमा नयाँ नयाँ अनुहारका मानिसहरु देखिन थालेको र उनीहरु आफन्तको साथ लागेर यसतर्फ आएको थाहा लागेको छ । सम्बद्ध स्रोतका अनुसार सिन्धुली सदरमुकामा निर्माणाधिन घरमा काम गर्नका लागि उनीहरुलाई ठकेदारहरुले ल्याएका हुन् । नेपाली भन्दा सस्तो र गुणस्तरीय काम गर्ने भन्दै उनीहरुलाई ल्याइएको बताइन्छ ।
सरकारले काठमाडौ प्रवेश गर्ने नाकालाई मात्रै कठाई गरेपछि उनीहरु काठमाडौ प्रवेश नगरी सिन्धुलीका विभिन्न स्थानमा बस्न थालेको सुरक्षा अधिकारीले आशंका गरेका छन् । यसरी आएका भारतीय नागरिकहरु भने सिन्धुलीका स्थानीय मधेसी समुदायको सहयोगमा घर भाडामा बस्ने ठाउँपनि खोज्न थालेको बताइन्छ । भारतीय नागरिकहरुको सिन्धुलीमा प्रवेशसँगै कोरोना संक्रमणको जोखिम उच्च भएको स्वास्थ्य अधिकारीहरुले बताउन थालेका छन् ।