पर्सामा आजमात्रै ४५ जनामा संक्रमण, महानगर प्रमुख सरावगीको परिवारमा कोरोना संक्रमण पुष्टि

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

कोरोना संक्रमणको इपिसेन्टर बन्दै गएको पर्सामा आज थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
हिजो गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए । उनका अनुसार संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा फेला परेका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको उनको भनाई छ ।
महानगर प्रमुख सरावगीको परिवारमा पनि संक्रमण, कन्ट्याक्ट ट्रेसिङ शुरु

कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ । पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तैगरी अन्य संक्रमितको ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ३६ वर्षका पुरुष र ४० वर्षीया दुई महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
औषधी पसलका ५ कर्मचारीमा कोरोना संक्रमण

मगनुस फर्माका ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । औषधि फर्मामा काम गर्ने वीरगञ्ज–८ की ४१ वर्षीया महिला, वीरगञ्ज मनियारीका ३२ र वीरगञ्ज–४ भगवती टोलका ४६ वर्षीय पुरुष, ठोरी गाउँपालिका निर्मलबस्तीकी २६ र वीरगञ्ज–८ की ४१ वर्षीया महिलाहरुमा कोरोना पुष्टि भएको छ । त्यस्तै पेड पीसीआर गराएका वीरगञ्ज–३ छपकैया र वीरगञ्ज–११ श्रीपुरका ५६ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।