सिन्धुलीको कमलामाईले नेपालकै पहिलो पटक डिजिटल पाठ्यक्रम लागुगर्दै

कोरोना भाइरसको कारणले गत चैत्र ११ गतेदेखी पुरै देश लकडाउनमा छ । सरकारी कामकाज देखी आवत जावत पनि पूर्ण रोक लागेको अवस्थामा शैक्षिक कार्यक्रमहरु पनि सञ्चालन हुन सकिरहेको छैन् ।
तर, कमलामाई नगरपालिका शिक्षा शाखाले भने लकडाउनको बेलामा श्ययm ऋयिगम मार्फत मंगलवार स्थानीय पाठ्यक्रमका विषयवस्तु र यसको कार्यान्वयन सम्बन्धमा भर्चुअल बैठक सम्पन्न गरेको छ । कमलामाई नगरपालिका शिक्षा शाखाको आयोजना तथा प्रविधिविज्ञ जगतबहादुर आलेको प्रविधि व्यवस्थापनमा सञ्चालन गरिएको बैठक कमलामाई नगरपालिकाका मेयर खडगबहादुर खत्रीको अध्यक्षता बसेको थियो ।

आउदो शैक्षिक सत्र २०७७ सालदेखी पहिलो चरणमा कक्षा १-५ लागू गरिने कमलामाईको पहिचान नामक स्थानीय पाठ्यक्रमले कमलामाई चिनारी दिने मात्र होइन यहाँको ऐतिहासिकरपर्यटकीय सम्पदा, संस्कार, संस्कृति लगायतका विषयमा पनि यथोचित जानकारी गराउने मेयर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षालाई उत्पादनसंग जोड्न यहाँका रैथाने ज्ञान, सीप र प्रविधिको समुचित प्रयोग गर्दै संस्कारयुक्त श्रममैत्री नागरिक उत्पादन गर्नमा समेत यो पाठ्यक्रम उपयोगी हुनेछ । अव प्रविधिमार्फत शैक्षिक कार्यक्रमहरु पनि बढाइने छ ।

काठमाडौँ विश्वविद्यालयका प्रा.डा. मनिष पोखरेलले कमलामाई नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य काम गर्दै आएको र यस्तो प्रतिकूल अवस्थामा पनि प्रविधिमार्फत शिक्षा सम्बन्धी छलफल गर्ने बातावरण सिर्जना गरेको नगरप्रमुख र शिक्षा शाखालाई विशेष धन्यवाद दिनु भयो । उहाँले भन्नु भयो, “अव कोभिड १९ ले हामीलाई शिक्षण सिकाइमा प्रविधिको प्रयोग गरी अनलाइन तथा भर्चुअल शिक्षण सिकाइ र छलफल कार्यक्रम सञ्चालन गर्नमात्र सिकाएको छैन बरु प्रविधिको पहुँच र अपरिहार्यतालाई समेत परिचित गराएको छ ।” सम्भवतः यो अभ्यास गर्ने देशभरीका स्थानीय तहमध्ये कमलामाई पहिलो हुनुपर्छ ।
यसैगरी त्रिभुवन विश्व विद्यालयका प्राध्यापक रेग भण्डारीले स्थानीय पाठ्यक्रममा रैथाने ज्ञानसिपलाई समुचित स्थान दिइएको र यहाँको संस्कार र सम्पदालाई पनि प्रतिविम्बित गरेकोले यो पाठ्यक्रम शैक्षिका विकासको एक शसक्त माध्ययम हुने धारणा राख्नु भयो ।
नगर शिक्षा अधिकारी शंकरराज लुइटेलले कमलामाईको स्थानीय पाठ्यक्रम पटक पटक सरोकारवालाहरुसंगको सार्थक छलफलबाट तयार गरिएकोले यसको कार्यान्वयनमा समेत सवैको सहयोग हुने विश्वास ब्यक्त गर्नु भयो ।
शिक्षाविद् तथा स्थानीय पाठ्यक्रम निर्माण,लेखन तथा सम्पादन समितिका सदस्य डा.हरिप्रसाद पोखरेलले यस पाठ्यक्रममा स्थानीय वातावरण, मूल्यमान्यता र सकारात्मक व्यवहार, स्थानीय पेसा, सीप र प्रविधि, स्थानीय सम्पदा, जातजाति, भाषा, र चाडपर्व, स्थानीय संरचना, विशिष्ट ब्यक्तित्व र सहिद, पोषण, खानपिन र सरसफाई, विपद ब्यवस्थापन र सुरक्षित विद्यालय गरी ७ वटा एकाइमा विषयवस्तुहरु समावेश गरिएको बताउनु भयो ।

कक्षा १–५ मा शैक्षिक सत्र २०७७ देखी लागू गरिने कमलामाईको स्थानीय पाठ्यक्रम डिजिटल स्वरुपमा पनि तयार गरिएको र यो नेपालकै पहिलो डिजिटल स्थानीय पाठ्यक्रम भएको कुरा शिक्षा सहजकर्ता जगल आलेले बताउनुभयो ।

अव प्रविधिमार्फत आवश्यकता अनुसार शिक्षण सिकाइ क्रियाकलाप र तालिमका कार्यक्रमहरु पनि सञ्चालन गरिने शिक्षा शाखाको योजना रहेको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम पहाडी, शिक्षक संघको अध्यक्ष अरुणकुमार थिङ, महासंघका नगर अध्यक्ष भीमविक्रम थापा, संगठनका नगर अध्यक्ष रामेश्वर दाहाल, शिक्षा समितिका सदस्य विजय तामाङ लगायत २० जनाको सहभागिता रहेको थियो । स्थानीय पाठ्यक्रम लागू गर्न सक्दो सहयोग गर्ने शिक्षकका प्रतिनिधिमूलक संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बताउनु भयो ।