नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पोडेलले नेकपाको एकतालाइ जोगाउनु आजको ऐतिहासिक आवश्यकता भएको बताउनु भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डलाई भेटेपछि समाजिक सञ्जालमा आएका टिकाटिप्पणी बारे आफ्नो धारणा सार्वजनिक गर्दै नेता पोडेलले भनेकाछन्ः टुट, फुट र विभाजन वाट निकै दुख पाएका कार्यकर्ता र जनताको पीडा लाई कमरेड केपि ओलि र प्रचण्डले गम्भीर रुपमा लिनु हुनेछ । तपाईहरुकै पहलमा भएको पार्टी एकतालाइ बचाउने र अघि बढाउने जिम्मेवारी फेरि पनि तपाईहरु कै काधमा छ ।

पूर्व माओवादी अर्थात प्रचण्ड निकट मानिएका पौडेलसहित ७ स्थायी समिति सदस्यहरुले वालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेर पार्टी अध्यक्ष र प्रधानमन्त्री पद नछोड्न र अर्का अध्यक्ष प्रचण्डलाई साथै लिएर जान सुझाएको विवरण बाहिर आएको थियो । ७ स्थायी समिति सदस्यहरुले ओलीलाई भेट गरेको थाहा पाएपछि सशंकित बनेका प्रचण्डले पनि उनीहरुलाई आफ्नो निवास खुमलटार बोलाएर विगतमा आफुबाट भएको कमजोरी स्वीकार्दै आगामी दिनमा तपाईहरुसँगै सल्लाह गरेर मात्रै अगाडि बढ्ने बचन दिएका थिए ।











