कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन्।
सीमानाकाबाट लुकीछुपी प्रदेश-२ मा प्रवेश गरेकै कारण कोरोना संक्रमण थप बढेको आइतवार सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले बताए। उनले कोरोना संक्रमण थप नफैलिन दिनको लागि तीनै सुरक्षा निकायलाई सीमा नाकामा थप कडाई गर्न निर्देशन दिए।
शुरुमा कोरोना संक्रमितमा कुनै लक्षण नदेखिएपनि अब लक्षण समेत देखिन थालेकोले यस बाट जोगिन अपनाउनु पर्ने उपायहरु बारे विज्ञहरु संग मुख्यमन्त्री राउतले सुझाव समेत लिएका छन्।
कोरोना नियन्त्रणको लागि प्रदेश सरकारबाट भएको कामको प्रगति बारे जानकारी लिदै मुख्यमन्त्री राउतले यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए।
प्रदेश-२ मा हालसम्म ४ हजार ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ९ सय ६२ जना निको भएर आफ्नो घर फर्केका छन्।