अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भयो : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ता भएको आरोप लगाएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताउँदै भने, ‘पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ ।’

उनले पार्टीमा एकतावद्ध कसरी गर्नेतर्फ जुटिरहँदा अर्का अध्‍यक्षले देशभरि जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएर पार्टीलाई झन अप्ठेरोमा पारेको बताए। उनले भने, ‘ओली कमरेडलाई पार्टीलाई एकमत भएर जान धैर्य लिन आग्रह गर्दा पनि आफ्नो पक्षमा जिन्दावादको नारा र त्यसखालका प्रचाबाजी भइरहेका छन्। यसले पार्टी संकटमा छ भन्‍ने कुरै देखाएको छ।’