सशस्त्रका पूर्व डीआइजी रञ्जन कोइराला जेल मुक्त, श्रीमतीभन्दै तारा रेग्मी नामकी महिलाले कोइरालालाई बुझिन्

श्रीमतीको हत्यामा दोषी ठहर भइ जेल सजाय भुक्तान गरी सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइराला बिहीबार छुटेका छन् । कोइराला बिहीबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिएका हुन् ।

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना मात्र कायम गरेपछि कोइराला उक्त सजाय भुक्तान गरी छुटेका हुन् ।

कोइरालालाई लिन एक महिला पुगेकी थिइन्। डिल्लिबजार कारागार स्रोतका अनुसार तारा रेग्मी नामकी महिलाले कोइरालालाई बुझेर लगेकी हुन्। कारागारबाट छुट्न कसैले लिन वा बुझ्न आउनुपर्छ। रेग्मीले आफु कोइरालाको श्रीमती भएको उल्लेख गरेकी छिन्। राजधानीमा श्रीमतीको हत्यापछि गाडीमा राखेर मकवानपुर लगि जलाएका उनी दोषी ठहर भएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले कोइरालाको सर्वस्वसहितको जन्मकैद सजाय घटाएको हो। २०६८ साल माघमा उनले श्रीमती गीताको हत्या गरेका थिए।

काठमाडौँ जिल्ला अदालतले २०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सो फैसला तत्कालीन पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ मा सदर गरेको थियो ।

तर प्रधानन्यायाधीशसहितको इजलासले जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते घटाएर ८ बर्ष ६ महिनामा झारेकी थियो ।