नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीले एक कार्यक्रमका बीच कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवश मनाएको छ । पार्टीभित्र गुटबन्दी हाबी भएका बेला जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा भने सबै नेताले पुष्पलालले देखाएको बाटोबाट अगाडि बढ्ने प्रण गरेका छन् ।
जिल्ला इन्चार्ज विषमलाल अधिकारीले पार्टी नेतृत्व अनुशासित र विधीसम्मत चल्न नसक्दा अहिलेको अबस्था आइपुगेको बताउँदै पार्टी केन्द्रमा जेसुकै गरेपनि सिन्धुली जिल्लामा सबैजना इमान्दार भए कुनै पनि समस्या नआउने बताउनुभयो । उहाँले पार्टी र संगठन विधी र पद्धतिबाट सञ्चालन गर्न र त्यसलाई पार्टी नेतृत्वले अनुशरण नगर्दा विगतमा समस्या देखिएको र त्यसलाई आजै दिनबाट त्यागेर अगाडि बढ्न र एक अर्काको आलोचनालाई बन्द गरेर मित्रवत व्यवहार प्रदर्शन गरिए तमाम समस्या सामाधन हुने उल्लेख गर्नुभयो ।

प्रचण्ड, केपी ओली माधव नेपाल र नारायणकाजीहरु एक आपसमा लडुन, तर हामी त्यसबाट अतिलकति पनि बिचलित नबनौं, माथी नेताहरु लड्दैमा पार्टी फुट्दैन, हामीहरुले पार्टी विभाजन गर्ने गतिविधी नगरौं, केन्द्रीय सदस्यसमेत रहेका अधिकारीले उपस्थित नेता कार्यकर्तालाई निर्देशन दिंदै भने ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालले सकारात्मक सोच र व्यहार प्रर्दशन गर्न सकिए नेता कार्यकर्ताका बीचमा भावनात्मक सम्बन्ध कायम हुने बताउँदै चोक र चौतारामा पार्टी नेतृत्वलाई खुइल्याउने कामले सबैतिर आलोचना बढेको बताउनुभयो ।
उहाँले हाम्रा जनप्रतिनधीले गरेका राम्रा कामको प्रचार गर्ने भन्दा पनि त्यसलाई खुइल्याउने र गलत प्रचार गर्ने कामहरु बढेपछि थप समस्या सिर्जना भएको उल्लेख गर्नुभयो ।

आफुहरु जिल्ला बाहिर रहेका बेला जिल्लामा केही असहज अबस्था सिर्जना भएको र त्यो असहजतालाई जिल्ला नेतृत्व बसेर अगाडि रोक्ने काम भएपनि भएको खुलासा गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, पार्टी फुट्दैन, तपाईहरु ढुक्क भएर आफ्ना जिम्मेवारीहरु पुरा गर्नुस् ।
सहइन्चार्ज कमलजंग राईले पार्टी नेताहरु विधीसम्मत तरिकाले चल्न नसक्दा सिन्धुलीमा पार्टीसदस्यतासमेत नटुंगिएकोले थप जटिलता सिर्जना गरेको बताउँ।दै पुष्पलालले अनशरण गरेको पार्टी, कार्यकर्ता र आन्दोलनका विधीलाई सही ढंगले अनुशरण गर्नेहोभने कुनै पनि समस्या सिर्जना नहुने उल्लेख गर्नुभयो ।
नेकपाका प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले पार्टी स्थानीय सरकारसँग जोडिन नसकेको र त्यसले जटिलता थपेको बताउनुभयो । पार्टीले स्थानीय सरकारलाई गाइड नगर्ने र चोक चौतारामा बसेर आलोचना गर्ने, खुइल्याउने र आफ्नो प्रतिस्पर्धी ठान्ने शैलीलले सिंगो पार्टीमा असर परिरहेको औंल्याउनुभयो । स्थानीय निकायलाई पार्टी नेतृत्वबाट सहयोग त भएन, उल्टै सिध्याउने, असफल पार्ने र अराजकता सिर्जना गरेर रमाउने प्रवृत्ति हामी हुँदा आम जनतामा निराशा पैदा गराएको उल्लेख गर्नुभयो ।
नेकपाकी सह इन्चार्ज उमा कोइराले पार्टीभित्र गुटबन्दी र अराजकता बढेकाले पार्टी नेतृत्व जिम्मेवार ढंगले अगाडि बढ्न र नेता कार्यकर्तालाई पार्टी विभाजनको शंका नगर्न आग्रह गर्नुभयो । उहाँले महिलामाथि पुरुषहरुको हस्तक्षेप कायमै रहेको र निर्णय प्रक्रियामा पुरुष हावी हुँदा महिला नेतृहर मात्रै होइन, स्थानीय निकायका उपप्रमुखहरु पनि प्रताडित बन्नु परेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा नेता बसन्त माझी, प्रल्हाद पोखरेल, दिपा बोहोरा दाहाल, पानीराज बम्जन, केशव देवकोटा, शंकरनाथ शर्मालगायतका नेताहरुले पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याएको उल्लेखगर्दे पार्टीलाई विधीसम्मत तरिकाले सञ्चालन गर्न जोड दिनुभएको थियो । कार्यक्रममा जिल्ला स्तरीय नेता कार्यकर्ताले हल खचाखच भरिएको थियो ।
जिल्लामा भएका दुई खाले प्रर्दशनले पार्टी एकता विभाजनमा बदलिने हो कि भन्ने नेताहरुको अभिव्यक्तिपछि समाप्त भएको सहभागीहरुले टिप्पणी गरेका थिए ।

















